पोखरा,
मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो ।
प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।
म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप अधिकारी, सागर क्षेत्री, आचल थापा मगर, रिया मगर, पुनम गुरुङ, बाल कलाकार आगमन सुनार तथा लभलेस क्षेत्री लगायत कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूको जीवन्त अभिनय र मौलिक प्रस्तुतिले भिडियोलाई थप आकर्षक बनाएको भिडियो निर्देशक अनुप अधिकारीले बताए ।

गीतको भिडियो सार्वजानिक गर्दै कार्यक्रमका प्रमुख अतिथि उदयपुर कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले गीत तथा भिडियोको प्रशंसा गर्दै नेपाली मौलिक कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने यस्ता सिर्जनाले सफलता पाउने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा लाग्न यस्ता कामले प्रेरणा दिने बताए ।
कार्यक्रममा बोल्दै गीतका सर्जक समीर रामदामले गीत निर्माणदेखि सार्वजनिकसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । उनले नेपाली मौलिक संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त गीत तयार गरिएको बताए ।
कलाकार सिम्रन बुनुले आफ्नो सांगीतिक तथा अभिनय यात्राका संघर्षका अनुभव सुनाउँदै भावुक बनिन् । उनले निरन्तरको मेहनत र दर्शकको मायाले आफूलाई अगाडी बढ्न प्रेरणा मिलेको सुनाइन् ।
“फुल रसैको” म्युजिक भिडियो सिम्रन बुनुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ ।