दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घर खर्च चलाउने योजनामा छिन् ।
“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिने मात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घर खर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् ।
त्यसैगरी, सोही ठाउँकी मनकला बुढामगर पनि गलैँचा बुन्नका लागि तान मिलाउँदै थिइन् । विगतमा गलैँचा हातले बुन्छन् भन्नेसमेत थाहा थिएन । तर, अहिले आफैँले हातले गलैँचा बुन्न थालेकी छन् ।
“पहिला हातले गलैँचा बुन्छन् भन्ने पनि थाहा थिएन”, बुढामगरले भनिन्, “तर अहिले आफैँले बुन्न थालेका छौँ ।” उनको पनि छोराछोरीलाई विद्यालय पठाउने र त्यसपछि त्यत्तिकै घरमै टिकटक चलाएर बस्नुपर्ने अवस्था थियो । अहिले गलैँचा बुन्न व्यस्त हुन थालेकी छन् ।
घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उनीहरू अहिले यसरी गलैँचा बुन्न व्यस्त भएका हुन् । महिलाहरूलाई आम्दानीमा जोड्नका लागि यसरी तालिम प्रदान गरेपछि उनीहरू यसरी आफैँ गलैँचा बुन्न थालेका हुन् । आफूहरूले बुनेका गलैँचाको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता पनि छैन ।
“गलैँचा बुनेपछि सबै काठमाडौंका उद्योगमा लगेर बिक्री गरिदिनुहुन्छ रे”, सोही ठाउँकी दीपा बाँठामगरले भनिन्, “त्यसैले पनि हामीलाई गलैँचा बुन्न हौसला मिलेको छ ।”
सोही ठाउँका २० जनालाई गलैँचा बुन्ने तालिम प्रदान गरिएको थियो । उनीहरू सबैलाई गलैँचा बुन्नका लागि मेसिन प्रदान गरेपछि अहिले आफैँले यसरी गलैँचा बुन्न थालेका घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताए ।
“हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौँ, उहाँहरूले उत्पादन गरेका गलैँचा बेच्न व्यवस्था मिलाएका छौँ”, उनले भने, “यसले उहाँहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौँ ।” काठमाडौंबाट मनोजकुमार श्रेष्ठ र सरस्वती तामाङले तालिम प्रदान गरेका हुन् ।