सुचना, समाचार र मनोरन्जन

दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको कमब्याक, चलचित्र ‘सारथी’को छायांकन अन्तिम चरणमा

काठमाडौं :

दुई दशकपछि पर्दामा कमब्याक गर्न लागेका चर्चित कलाकार द्वय उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको नेपाली सामाजिक चलचित्र ‘सारथी’को म्याग्दीको गुर्जा खानी सेड्युलको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। गत वैशाख १५ गतेदेखि सुरु भएको छायांकन कार्य अन्तर्गत अभिनेता प्रधान र अभिनेत्री सिंहसहितको टोलीले एक महिना लगाएर गुर्जा खानीको सम्पूर्ण सुटिङ पुरा गरेको हो।

वरिष्ठ कलाकारद्वय उत्तम प्रधान र निरुता सिंहको करिब २० वर्षपछिको यो भव्य पुनर्मिलनलाई चलचित्र क्षेत्र र दर्शकहरूले विशेष चासो र उत्साहका साथ हेरिरहेका छन्। निर्देशक कुमार गजुरेलका अनुसार दुई पुराना तथा स्थापित कलाकारहरूको परिपक्व अभिनय र कमब्याक नै यस चलचित्रको प्रमुख आकर्षणका रूपमा रहनेछ। म्याग्दीको दुर्गम तर प्राकृतिक रूपमा अत्यन्तै मनमोहक गुर्जा क्षेत्रको पृष्ठभूमिमा अभिनेता प्रधान र अभिनेत्री सिंहले अन्य कलाकारहरूसँग मिलेर छन्त्याल तथा दलित समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली र सामाजिक कथावस्तुलाई क्यामरामा उतारेका छन्।

सिनेमामा मुख्य जोडी उत्तम र निरुताका साथमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

गुर्जा खानीको लामो र चुनौतीपूर्ण छायांकन सकेर कलाकार तथा निर्माण टिम काठमाडौं फर्किसकेको छ। निर्देशक गजुरेलका अनुसार अब चलचित्रको काठमाडौंमा मात्र एक दिनको छायांकन बाँकी रहेको र त्यो सकेलगत्तै टोली पोस्ट प्रोडक्सन ९सम्पादन० मा लाग्नेछ। किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्‌को ब्यानरमा तारा थापा ‘किम्भे’ र सौर्यल थापाद्वारा निर्मित यस चलचित्रको प्राविधिक काम सकिएलगत्तै प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.