काठमाडौँ :
अभिनेता पल शाह र भर्खरै अनुबन्धित भएकी अभिनेत्री मलिका महतको मुख्य भूमिका रहने चलचित्र ‘आ बाट आमा २’ को छायांकन सोमबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले मकवानपुरको चित्लाङबाट चलचित्रको सुटिङ थालेको हो, जसका लागि आइतबार मात्रै निर्माण पक्षले मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो।
चलचित्रमा पल र मलिकाको चर्चित जोडीका साथै विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहनेछ। निर्देशक चन्द्र पन्तका अनुसार एक महिनाको कार्यतालिका राखेर सुरु गरिएको यस चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिनेछ। नेपालको सेड्युल सकिएपछि बाँकी दृश्य खिच्न कलाकार र प्राविधिकको टोली लन्डन प्रस्थान गर्नेछ।
निर्देशक पन्त स्वयंको कथा तथा पटकथा रहेको यो चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल हो। आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको र करनसिंह रसाली मुख्य व्यवस्थापक रहेको यस चलचित्रलाई आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। चलचित्रको नेपालभरको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरिसकेको छ।