काठमाडौँ :
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यका साथ राजधानीमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ को औपचारिक शुभारम्भ गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोगमा आयोजित एक विशेष समारोहका बिच हुलाक सेवा विभागकी महानिर्देशक एवं विशिष्ट सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी(शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गर्दै यस महाअभियानको सुरुवात गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको बताउँदै सर्जक मनमाया पंगेनी निजामती सेवाभित्रको सिर्जनशील चेतनाको सशक्त प्रतिनिधित्व गर्ने व्यक्तित्व भएको उल्लेख गरे। गीतकी रचनाकार, संगीतकार तथा गायिका समेत रहेकी पंगेनीले समाज, राष्ट्र र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले कला र संगीतलाई समर्पित गरेको बताइन्। उनलाई यो गीतको गायनमा गायक कमल सौरागले साथ दिएका छन् भने संगीत संयोजन पनि सौरागकै रहेको छ।
चलचित्र तथा कला क्षेत्रका कलाकारहरूको बलियो उपस्थिति रहेको यस गीतको भिडियोमा अभिनेता एवं अभियानका संयोजक सनम कठायत, अभिनेत्री अस्मिता खनाल तथा बालकलाकारद्वय अनुश्री भट्टराई र श्रीनिधि कठायतले ओजपूर्ण अभिनय गरेका छन्। दुई वर्षअघि ‘दृश्यमा नेपाल’ अभियान सफलतापूर्वक सम्पन्न गरेको एभरेस्ट ग्यालरीले अहिले कलाकारहरूकै सक्रियतामा संगीतलाई विश्व शान्ति र मानव एकताको सन्देशवाहक बनाउने लक्ष्यसहित यो नयाँ अभियान सुरु गरेको ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायत र निर्देशक डिबी खड्काले जानकारी दिए।
समारोहमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, पूर्व डीआईजी एवं कार्यक्रमका अध्यक्ष महेशसिंह कठायत लगायतले शान्ति र सद्भाव फैलाउन कलाकार तथा संगीतको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए। नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार राजकुमार बगर लगायतका कलाकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गीत तथा भिडियो निर्माणमा आबद्ध कलाकार एवं प्राविधिकहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो।