सुचना, समाचार र मनोरन्जन

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं, साझा समृद्धिका लागि पूर्ण समर्थन छः मोदी

काठमाडौं,

भारतको औपचारिक भ्रमणमा रहेका नेपालको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यस भेटघाटमा नेपाल र भारतबीचको आपसी हित, साझा चासो र कूटनीतिक साझेदारीका विविध आयामहरूमा गहन छलफल भएको छ।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सभापति लामिछानेसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरू सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको दृष्टिकोण स्पष्ट पारेका छन्। मोदीले लेखेका छन्, ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछनु र पूर्ण रूपमा समर्थन गर्दछु।’

‘छिमेकी पहिलो’ नीति र उच्चस्तरीय राजनीतिक भेटघाट

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल जहिले पनि एक प्राथमिक साझेदार राष्ट्रका रूपमा रहेको स्पष्ट पारेका छन्। दुई देशबीच सदियौँदेखि कायम रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको मोदीको भनाइ थियो।

रास्वपा सभापति लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल भारतको सत्ताधारी दल भारतीय जनता पार्टी ९भाजपा० को विशेष निमन्त्रणाका क्रममा पाँच दिने भ्रमणका लागि गत जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गरेको थियो।

नयाँ दिल्ली बसाइका क्रममा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा भव्य स्वागत गरिएको थियो भने उनले भारतीय विदेशमन्त्री एस। जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै राजनीतिक भेटघाट गरी दुई देशको हितका विषयमा संवाद गरेका थिए।

यस उच्चस्तरीय भ्रमण दलमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन्।

Leave A Reply

Your email address will not be published.