पोखरा।
पृथ्वीनारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागले स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ। शुक्रबारसम्म चल्ने कार्यशालाको उद्घाटन गर्दै क्याम्पस प्रमुख प्रा.डा.हरिप्रसाद पाठकले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस गोष्ठीले लेखन कार्यमा सहजता मिल्ने विश्वास व्यक्त गरे।
उनले विषयगत विज्ञ प्राध्यापकहरूको अनुभव र ज्ञानलाई विद्यार्थीले ग्रहण गरी शोधपत्र लेखनका क्रममा कार्यान्वयन गर्न सुझाव दिए। कार्यक्रममा अतिथि सहप्रा।डा। भीमनाथ बरालले यो प्रशिक्षणले राम्रो शोधपत्र तयारीका लागि ठूलो सहयोग पुग्ने बताए।विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले त्रिभुवन विश्वविद्यालयको इतिहास तथा संस्कृति विभागले विद्यार्थीको सहज पठनपाठनका लागि भौतिक तथा अनलाइन कक्षा कतैपनि कमजोरी हुन नदिएको उल्लेख गरे। उनले इतिहास विषयको समयानुकुल पाठ्यक्रम परिमार्जन भइरहेको र पछिल्लो तीन वर्षमा पृथ्वीनारायण क्याम्पसमा इतिहास पढ्ने विद्यार्थीको रुचि बढेको देख्दा खुसी लागेको धारणा राखे।
गोष्ठीको पहिलो दिन प्रमुख प्रशिक्षक प्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अनुशीलनले वर्तमान र भविष्यका लागि सचेत गराउने बताए भने सहप्राध्यापक डा। दीर्घमान गुरूङले विगतका अनुभवबाट शिक्षा लिँदै आजको दिशा निर्धारण गर्ने विधा नै इतिहास भएको स्पष्ट पारे। त्यसैगरी उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले इतिहास र सभ्यताको जगेर्ना गर्ने मुलुकले नै विकासमा फड्को मार्ने बताए। गोष्ठीमा प्रमुख प्रशिक्षक प्राध्यापक अर्जुनबहादुर भण्डारी, सहप्राध्यापक डाक्टरदीर्घमान गुरूङ,उपप्राध्यापक चन्द्रकान्त पौडेल, उपप्राध्यापक लक्ष्मण श्रेष्ठ र तोयनारायण देवकोटाले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका छन्।
विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठीको शुभारम्भ कार्यक्रममा तोयनारायण देवकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन उपप्राध्यापक चन्द्रकान्त पौडेलले गरेका थिए।