काठमाडौं :
पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्र ‘बाः एक योद्धा’ले आफ्ना नयाँ कलाकारको नाम सार्वजनिक गरेको छ। निर्माण टिमले आज सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम सार्वजनिक गरेको हो। चलचित्रको छायांकन सकिएर पोस्टको काम सुरु भइसक्दा पनि यी कलाकारहरूलाई निर्माण टिमले अहिलेसम्म गोप्य राखेको थियो। सार्वजनिक गरिएका कलाकारहरूमध्ये सागर खनाल चलचित्र ‘११ः५५’ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन्।
यस चलचित्रमा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन्,जसको नाम यसअघि नै सार्वजनिक भइसकेको थियो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार, रचनाकार तथा गायक हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो पहिलो फिचर फिल्म हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन्। चलचित्रका निर्माता भने वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने तयारीमा छ। सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यसलाई कुशे औंसीमा प्रदर्शन गर्न लागिएको हो। यस चलचित्रले नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको वास्तविक पक्षलाई उजागर गर्नेछ। शिवराम श्रेष्ठको छायाकंन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको यस चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।