काठमाडौँ,
गृह मन्त्रालयले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका हकदारलाई शीघ्र राहत उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

सोमबार गरिएको परिपत्रमा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ बमोजिम विपद्मा परी बेपत्तालाई मृतक घोषणा गर्न सम्बन्धित कार्यालयबाट सिफारिस भएका बेपत्ताका हकदारलाई स्थानीय तहमार्फत् मृतकसरहको राहत उपलब्ध गराउने निर्णय शीघ्र कार्यान्वयन गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ ।
नेपाल सरकारद्वारा २०८३ असोज २३ गते जारी विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार मृतक घोषणा गर्न सक्ने व्यवस्थाबमोजिम हालसम्म ४९ वटा जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाइसकेका छन् ।
मन्त्रिपरिषद्को २०८१ असार ३१ गते र २०८१ फागुन १२ गतेका बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।