सुचना, समाचार र मनोरन्जन

फेवा किङ्स कपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक र कोसीबीच प्रतिस्पर्धा 

पोखरा :

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा भोलि (बुधबार) देखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको खेल तालिका क्लबको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो।

प्रतियोगिताको पहिलो खेल बिहान ९ बजे गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीच हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार साढे ११ बजे दोस्रो खेल अन्र्तगत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने, दिउँसो २ बजे उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोसी प्रदेश भलिबल संघ भिड्नेछन्।

Pach Pandav

उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गर्नेछिन्।राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

आगामी १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल प्रवेश शुल्क २ हजार ५०० रुपैयाँको निर्धारण गरिएको छ भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको छ ।

प्रतियोगितालाई विभिन्न संस्थाको साथ
प्रतियोगितालाई भव्य बनाउन विभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठानहरुले साथ दिएको छ । क्लबका सचिव अशोक थापाका अनुसार एजुकेशन पार्टरका रुपमा फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ। यस्तै, मेडिकल पार्टनरका रुपमा गण्डकी मेडिकल कलेजसँग (जिएमसी) सम्झौता भएको थापाले बताए।  उनका अनुसार ब्रोडकास्टिङ पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजनसँग सहकार्य भएको छ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.