पोखरा,
मनसुन सुरु हुनुअघि सामान्यतया अफसिजन मानिने समयमा पोखराको पर्यटन बजार भने यतिबेला असाधारण रूपमा चलायमान बनेको छ। पछिल्ला दुई महिनायता भारतीय, आन्तरिक तथा विदेशी पर्यटकको बढ्दो आगमनले होटलहरू भरिभराउ भएका छन् भने पर्यटन पूर्वाधारको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
पर्यटन व्यवसायीका अनुसार पोखराका पर्यटकीय होटलहरूको अकुपेन्सी करिब ९० प्रतिशत पुगेको छ। दैनिक ठूलो सङ्ख्यामा भारतीय सवारी साधन पोखरा भित्रिन थालेपछि होटलदेखि रेष्टुरेन्ट, यातायात र पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा समेत चहलपहल बढेको छ।
तर पर्यटकको बढ्दो चापसँगै व्यवस्थापनका केही पक्ष पनि सतहमा आउन थालेका छन्। विशेषगरी मुक्तिनाथ जाने मार्ग तथा पर्यटकीय स्थलहरूमा फोहोर व्यवस्थापन, पार्किङ, आवास अभाव तथा सार्वजनिक स्थलको संरक्षण चुनौतीका रूपमा देखिन थालेको व्यवसायीहरू बताउँछन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अहिले पोखरादेखि माथिल्लो मुस्ताङसम्म होटल पाउन मुस्किल हुने अवस्था रहेको बताउँदै पर्यटकको चापअनुसार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। केही भारतीय पर्यटकले सडक किनारमा खाना पकाउने तथा फोहोर छाड्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई विवादको विषयभन्दा पनि उचित व्यवस्थापनको विषय बनाउनुपर्ने उहाँको भनाइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारत लक्षित प्रवर्द्धन अभियान, गर्मी मौसममा सञ्चालन गरिएका प्रचार कार्यक्रम तथा भारतीय सञ्चारमाध्यम र चर्चित भ्लगरहरूको सामग्रीले पोखरा भ्रमणप्रति आकर्षण बढाएको बताउनुभयो। खुला सीमाना र आफ्नै सवारी साधनमार्फत यात्रा गर्न सकिने सहजताले पनि भारतीय पर्यटकको सङ्ख्या बढाउन सहयोग पुगेको उहाँको भनाइ छ।
यता पर्यटन व्यवसायीहरू भने यो अवस्थालाई पोखराको पर्यटन क्षेत्रका लागि अवसरका रूपमा लिइरहेका छन्। अफसिजनमै उत्साहजनक व्यापार भएपछि वर्षभरि पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको उनीहरूको विश्वास छ।
विशेषज्ञहरूका अनुसार अबको चुनौती पर्यटक संख्या बढाउनु मात्र नभई बढ्दो आगमनलाई व्यवस्थित, वातावरणमैत्री र दिगो पर्यटनमा रूपान्तरण गर्नु हो। यदि फोहोर व्यवस्थापन, पूर्वाधार विस्तार र पर्यटकीय गन्तव्यको संरक्षणमा ध्यान दिन सकिए पोखराले वर्षैभरि पर्यटन गतिविधि कायम राख्न सक्ने सम्भावना बलियो देखिएको छ।