काठमाडौं :
चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन्। ‘बा’ को हुन् भन्ने कौतुहलता मेटाउँदै पोस्टरले चलचित्र ‘बाः एक योद्धा’को ‘बा’को परिचय खुलाएको छ।
चलचित्र ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा दिब्य देब रहेको पोस्टरले पुष्टि गरेको छ। चस्मा लगाएका उनी तनावमा देखिएका छन्। उनीसँगै छिन्, ‘बा’ कि छोरी । छोरीको भूमिकामा सुहाना थापा रहेको पोस्टरले खुलाएको छ। उनी सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ।
घरको भित्तामा टाँसेको फाटोमा चारजनाको सानो परिवार रहेको देखाउँछ । जहाँ एक छोरी, एक छोरा र बाबु–आमा छन्। फलैँचामा बाबु र आमा बसिरहेको दृश्य र आकाशमा देखिएको हवइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । छेउमा मोटरसाइकल र पोस्टरको कलर मध्यमबर्गीय परिवार रहेको संकेत गर्छ।
सन्तानका लागि बुवाले गर्ने संघर्षको कथा चलचित्रले भन्ने संकेत गर्दै पोस्टरले अर्को तथ्य पनि उजागर गरेको छ। यो चलचित्रमा दिब्य देबको अपोजिटमा झरना थापा रहेको पोस्टरमा रहेको फोटोले देखाउँछ । यो पोस्टरले खुलासा गरेको अर्को तथ्य झरना र सुहाना आमा–छोरीको भूमिकामा छन् भन्ने हो ।
पृष्ठभूमिमा देखिने जग्गाधनी पूर्जा र छापले घर–जग्गाको लालपूर्जा राखेर छोरी वा छोराका लागि पैसा जुटाउने बुवाको कथा सिनेमाले भन्ने संकेत गरेको छ। एउटै पोस्टरमार्फत सिनेमाको धेरै कुरा बाहिर आएको छ। चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ। ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक कथा भन्ने पोस्टरले देखाएको छ।
नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा हो । पोस्टरले पनि यही देखाउने प्रयास गरेको छ। यो चलचित्रमा दिब्य देव, झरना थापा,सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।