सुचना, समाचार र मनोरन्जन

चलचित्र समीक्षक समाजको अवार्डमा गाउँ आएको बाटोबाट दयाहाङ र ‘रमिताको पिरती’बाट आना उत्कृष्ट

काठमाडौँ :

चलचित्र समीक्षक समाज (फिक्सन)ले एकसाथ वितरण गरेको ‘क्रिटिक्स फिल्म अवार्ड’मा अभिनेता दयाहाङ राई र अभिनेत्री आना शर्मा उत्कृष्ट अभिनेता अभिनेत्री बने। शनिबार राजधानीमा आयोजित भव्य समारोहका बीच दयाहाङले वर्ष २०८१ र आनाले वर्ष २०८२ को उत्कृष्ट अभिनय विधाको ट्रफी उचालेका हुन् ।

शनिबार काठमाडौँमा सम्पन्न समारोहमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र निर्देशक नवीन सुब्बा लगायतका दिग्गज फिल्मी व्यक्तित्वहरूको उपस्थितिमा दुवै वर्षका अवार्डहरू वितरण गरिएको थियो । जसमा दुई फरक पुस्ता तथा फरक शैलीका स्थापित कलाकारहरू दयाहाङ र आनाले प्रमुख विधामा बाजी मारेका हुन्।

अभिनेता दयाहाङ राईले चलचित्र ‘गाउँ आएको बाटो’मा निभाएको जीवन्त भूमिकाका लागि वर्ष २०८१ को उत्कृष्ट अभिनेतातर्फको क्रिटिक्स अवार्ड प्राप्त गरे। मौलिक र ग्रामीण कथावस्तुमा आधारित यस चलचित्रमा दयाहाङको अभिनयलाई समीक्षकहरूले उच्च मूल्याङ्कन गरेका थिए । दयाहाङ अभिनीत यस चलचित्रले साउण्ड डिजाइन विधामा पनि अवार्ड हात पारेको छ।

त्यस्तै, वर्ष २०८२ को उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै आना शर्माले समारोहमा आफ्नो दह्रो उपस्थिति जनाइन् । चलचित्र ‘रमिताको पिरती’बाट यो सफलता पाएकी आनाका लागि यो हप्ता विशेष सुखद बन्यो । क्रिटिक्स अवार्ड प्राप्त गर्नुभन्दा ठीक एक दिन अघि मात्र उनले सोही चलचित्रबाट राष्ट्रिय चलचित्र पुरस्कारमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ समेत ग्रहण गरेकी थिइन् । ब्याक–टु–ब्याक दुई ठूला मञ्चमा पुरस्कृत भएपछि आना यतिबेला सञ्चारमाध्यम र सिने वृत्तको केन्द्रमा छिन् ।

समीक्षक समाजले २०८१ सालतर्फ १० वटा र २०८२ सालतर्फ ८ वटा विधामा अवार्ड वितरण गरेको यस समारोहमा दयाहाङ र आनासँगै अन्य विधाका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो । दुई वर्षको अवार्ड एकै ठाउँमा समेटिएको यस कार्यक्रममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, पशुपति राई,बुद्धि तामा लगायतका कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.