काठमाडौँ,
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार २१ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई एकसाथ प्रवद्र्धन गर्ने उदेश्यले पोखरास्थित शिशुवा देउरालीखोलामा यो महोत्सव आयोजना गरिएको हो ।
करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको खेतमा आयोजित उक्त महोत्सवमा स्थानीय कृषक, पर्यटन व्यवसायी तथा आन्तरिक र बाह्य पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो । खेतीयोग्य जमिनको संरक्षण, कृषिको व्यवसायीकरण र परम्परागत कृषि प्रणालीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परिषद्ले वि.सं २०६१ सालदेखि यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ ।

महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा मौलिक प्रतियोगिताहरू समेत सञ्चालन गरिएका थिए । जसमा आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतिस्पर्धा, हिलोमा माछा समात्ने र दौड प्रतियोगिता समावेश थिए । कार्यक्रममा सहभागी सहभागी लेकनाथ क्षेत्रका नागरिक तथा स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाली मौलिक संस्कृतिमा रमाउँदै हिलो छ्यापाछ्याप गरेर उत्सव मनाएका थिए ।