काठमाडौं :
नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्र फागुन २१ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।
सूरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्। यो चलचित्रमा नायक विजय बराल र नायिका पूजा शर्मा मुख्य भूमिकाका लागि फाइनल भइसकेका छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु हुँदैछ।
चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै यसले बजारमा राम्रो चर्चा पाएको थियो। यस चलचित्रको नेपाल वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले लिएका छन्। महाशिवरात्री र अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक बिदा परेकाले चलचित्रको प्रदर्शन मिति फागुन २१ गतेलाई तय गरिएको वितरक करणले बताएका छन्। सामाजिक कथावस्तुमा तयार हुने यो चलचित्रको हाल धमाधम प्रि-प्रोडक्सन (निर्माणपूर्वको तयारी) को काम चलिरहेको छ।