काठमाडौँ :
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’ को पहिलो झलक (फर्स्ट लुक) सार्वजनिक गरिएको छ। सार्वजनिक झलकमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागि केही गर्न खोजिरहेको देखिन्छन्। अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर गाउँको हितका लागि योजना बनाइरहेको दृश्य यसमा कैद छ ।
उनीहरू ‘कुलेबारी’ नामको गाउँमा छन् र सोही गाउँको मुहार फेर्ने योजना बुनिरहेका छन्। सार्वजनिक झन्डै तीन मिनेट लामो झलकमा अभिनेत्री रेखाले भन्छिन्,’गाउँको लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है ?’ यस्तै अभिनेत्री गौरीले ‘एउटा सालिक त बनाउलान् नि हरामीहरूले’ भन्दै व्यङ्ग्य गरेकी छिन्। तर अर्की अभिनेत्री तृप्तिले भने ‘सालिक त बनाउँदैनन् होला,अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ भन्दै जवाफ फर्काएको देख्न सकिन्छ।
आगामी भदौ १९ गते प्रदर्शनमा आउने ‘ककाकिकी’को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रूपमा सुरु भएको जानकारी गराएको छ। फिल्मका निर्देशकद्वय बिक्की अगरवाल र श्रद्धा प्रसाईंले आफूहरूले मिहिनेत गरेर बनाएको फिल्म अब दर्शकको हातमा सुम्पिन लागेको र जस्तो प्रतिक्रिया आउँछ, त्यसमा आफूहरू सन्तुष्ट रहने बताएका छन् । निर्देशक बिक्की भन्छन्, ‘हामी अहिले नै हामीले यस्तो-उस्तो फिल्म बनाएका छौँ भन्दैनौँ, राम्रो बनाउने कोसिस गरेका छौँ, बाँकी दर्शकको हातमा छ।’ यस्तै निर्देशक श्रद्धा सम्पूर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरूलाई निकै साथ दिएकाले फिल्म राम्रो बनेकोमा ढुक्क देखिन्छिन्।
पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले फिल्ममा काम गर्दाका आफ्ना अनुभव साटेका थिए । फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल,मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ।
फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना (बिटी कान्छा) ले गरेका छन्। सुदीप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिस तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार तथा प्रोडक्सन हेडका रूपमा अरुण रेग्मी रहेका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।