सुचना, समाचार र मनोरन्जन

बागलुङको तरकारी पोखरामा बिक्री

गलकोट ।
ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन् ।
सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ । उनले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि गरेका छन् ।
पाँच वटा हाइटेक टनेलसहित खुला जग्गामा काक्रो, भेन्टा, धनिया, सिमी, बोडीलगायत तरकारी बिक्रीबाट सापकोटाले वार्षिक रु १८ लाख आम्दानी गर्दै आएका छन् ।
“पहिलो पटक आफ्नो कृषि उत्पादन पोखरा पुगेको छ, पाँच रोपनी जग्गामा मात्रै खुर्सानीखेती लगाएको छु, यस सिजनमै खुर्सानीबाट दुई लाख ५० हजार देखि तीन लाखसम्म आम्दानी हुने देखियो”, सापकोटाले भने ।
“खुर्सानीको उत्पादन धेरै भएपछि बागलुङ बजारमा खपत नभएकाले पोखराको बजारमा खुर्सानी पठाउन थालेको छु, अहिले काक्रो, केरा, धनिया र भेण्टाको उत्पादन बढेका । दैलोमै कालोपत्र सडक आएपछि ढुवानीको समेत समस्या छैन”, सापकोटाले भने ।
पोखरामा ५००, बागलुङमा ४०० केजी खुर्सानी बिक्री भइसकेको छ । तीन महिना लगातार खुर्सानीको उत्पादन भइरहेको उनले बताए।
हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत नमूना कृषि फर्म सञ्चालन गर्दै आएका सापकोटाले पाखो जग्गामा थप केराखेती सुरु गरेका छन् ।
कालीगण्डकी पशुपालन तथा कृषि फर्ममार्फत ३४ वर्षदेखि बाबुको पदचाप पछ्याउँदै तरकारीखेतीमा लागि परेका सापकोटाले गाईभैँसी पालनमार्फत दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् ।
दुई जनालाई रोजगारी दिएका उनले तरकारी खेतीबाटै दुई छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएका छन् ।
कृषिमा भित्रिएको प्रविधिका कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा, केरा र दुध बिक्रीबाट वार्षिक रु १८ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “यही कमाइबाट छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएको छु, पढाइ सकेर स्वदेशमै आउन सल्लाहसमेत दिएको छु, आम्दानीबाट मल, बीउ, कर्मचारी र अन्य खर्च कटाएर १२ लाख त बचतै हुने गरेको छ ।”
Leave A Reply

Your email address will not be published.