सुचना, समाचार र मनोरन्जन

तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण

मुस्ताङ,
तिलिचो ताल पदमार्गमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले उक्त स्थान निर्माण गरेको हो ।
  एक्याप जोमसोमको रु १२ लाख ३५ हजार ५५० लागतमा मुस्ताङको घरपझोङ–५ स्थित नमखुखर्क लेकमा ५० जना पर्यटक अट्नसक्ने क्षमताको आश्रयस्थल निर्माण सम्पन्न भएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो ।
मुस्ताङको जोमसोमबाट ठिनी, नमखुखर्क, मेसोकोन्दो पास हुँदै तिलिचो ताल पुगिन्छ । ताल समुद्री सतहबाट चार हजार ९१९ मिटर अग्लो स्थानमा अवस्थित छ ।  तिलिचो ताल मनाङ जिल्लामा पर्छ ।
  जिल्लाको निस्याङ गाउँपालिकामा अवस्थित यो ताललाई विश्वकै उच्चस्थानमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा लिने गरिन्छ ।
मनाङबाट भन्दा मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो जाने पर्यटकीय पदमार्ग निकै छोटो दूरीको सहज पर्यटकीय पदमार्ग हो ।
आश्रयस्थल निर्माण भएसँगै मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो तालको पदयात्रा गर्ने पर्यटकलाई निकै सहज हुने बताइन्छ । विश्राम घरमा पर्यटकले खाने र बस्ने   हलको सुविधा पाउँछन् ।
तिलिचो पदमार्गको नमखुखर्कदेखि माथि करिब ३०० मिटर जीर्ण पदमार्गमा ग्याविन पर्खाल निर्माण गरी पदमार्ग  निर्माण गरिएको छ ।
मुस्ताङबाट सबैभन्दा छिटो र सहज यात्रा गर्न सकिने तिलिचो पदमार्गको जानकारी नहुँदा उक्त पदमार्गमा पर्यटकको पदयात्रा कम हुने गरेको छ ।
हिमपहिरो र सुक्खा पहिरोका कारण तिलिचो पदमार्ग बिग्रने र भत्किने भए पनि एक्याप जोमसोम र संरक्षण व्यवस्थापन समितिले मर्मत सुधारका कार्यहरु गर्दैआइरहेका छन् ।
नमखुखर्कबाट करिब पाँच घण्टाको उकालो पैदलयात्रा गर्दै समुद्री सतहको पाँच हजार २४५ मिटरको मेसोकोन्दा पास छिचोलेर एक घण्टाको समयमा तिलिचो ताल पुग्न सकिन्छ ।
पर्यटकले नीलगिरि र धौलागिरि हिमाललगायतको दृष्यावलोकन गर्न सक्छन् । यहाँबाट वन्यजन्तुको गतिविधि र याक तथा चौरीको वासस्थानलगायतका क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
Leave A Reply

Your email address will not be published.