आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन् । तर वर्षाको क्षेत्र र मात्रा भने फरक–फरक हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ । कतिपय स्थानमा मोडेलले देखाएको भन्दा बढी र कतिपय स्थानमा कम वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
मौसमविदले पोखरेलले फेसबुकमा लेखेका छन्, ‘केही ठाउँमा मोडेलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ । त्यसैले सजग हुनुहोला ।’
यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम र नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद्हरूको भनाइ छ ।