गण्डकी,
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच बुधबार भेटवार्ता भएको छ ।
अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका मधेस प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख भट्टको भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई प्रदेशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरुको अनुशरण गर्ने, अनुभवहरु साटासाट गर्ने विषयमा छलफल भएको थियो ।
उनीहरुले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र भएगरेका गतिविधिबारे अनुभव साझा गर्नुभएको थियो । प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उनीहरुको जोड थियो ।
गण्डकी प्रदेश प्रमुख भट्टले कानुनतः सरकारका प्रतिनिधिका रुपमा आ–आफ्ना प्रदेशमा जिम्मेवारी वहन गरिरहेकाले संघ सरकार र प्रदेश सरकारसँगको समन्वयकर्ताका रूपमा आफूहरू रहेको बताए । मधेस प्रदेश प्रमुख कर्णले राष्ट्रिय एकताको अभियानकै रुपमा आफू सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिए।
स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेस प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा मधेस प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गरे ।