पोखरा,
पोखरा महानगरपालिका–८ स्थित लिटिल स्टेप सेकेन्डरी स्कुलले आफ्नो शैक्षिक पूर्वाधार विस्तार गर्दै नयाँ अत्याधुनिक विद्यालय भवन निर्माणको औपचारिक शुभारम्भ गरेको छ। विगत ४४ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले समयको आवश्यकता, विद्यार्थीको बढ्दो चाप तथा राष्ट्रिय भवन मापदण्डलाई मध्यनजर गर्दै नयाँ भवन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।
नयाँ भवनको विद्यालयका संरक्षक शेरबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पम्पा गुरुङले संयुक्त रूपमा विधिपूर्वक शिलान्यास गरेका हुन्। विद्यालयका अनुसार हाल प्रयोगमा रहेको भवन नयाँ भवन मापदण्डअनुसार उपयुक्त नभएकाले विद्यार्थीलाई सुरक्षित, सुविधासम्पन्न तथा प्रविधिमैत्री सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले नयाँ भवन निर्माण सुरु गरिएको हो।

शिलान्यास कार्यक्रममा विद्यालयका निर्देशक पदम बास्ताकोटी, सहनिर्देशक डा. हरि कार्की, प्राचार्य डा. कैलाश तिमिल्सिना, प्याब्सन कास्कीका अध्यक्ष सदानन्द गौतम, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयले निर्माण गर्न लागेको भवन लिफ्टसहितको पाँचतले हुनेछ। भवनमा २८ वटा आधुनिक कक्षाकोठाका साथै स्मार्ट कक्षाकोठा, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, समृद्ध पुस्तकालय, प्रशासनिक कक्ष, सेमिनार हल तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक अन्य शैक्षिक पूर्वाधारको व्यवस्था गरिने विद्यालयले जनाएको छ।
निर्माण कार्य सुरु भएको मितिदेखि करिब सात महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार थप सुदृढ हुने, शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित, सुरक्षित तथा प्रविधिमैत्री बन्ने विश्वास विद्यालय व्यवस्थापनको छ।

शिलान्यास समारोहका अवसरमा विद्यालय परिवारले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तर साथ, सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरेको छ।
चार दशकभन्दा लामो शैक्षिक यात्रामा लिटिल स्टेप सेकेन्डरी स्कुलले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ। नयाँ भवन निर्माणसँगै विद्यालयले भविष्यका आवश्यकता अनुरूप अझ आधुनिक, सुरक्षित र प्रविधिमा आधारित शिक्षण वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।