सुचना, समाचार र मनोरन्जन

देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण

काठमाडौं :

८६ पटकसम्म सफलताका साथ मञ्चन भइसकेको चर्चित नाटक ‘जिउँदो आकाश’ आगामी साउन १ गतेदेखि १२ गतेसम्म थापागाउँस्थित ‘एक थिएटर नेपाल’ मा पुनः मञ्चन हुने भएको छ । यसपटकको मञ्चनमा पनि बहुमुखी प्रतिभाका धनी अभिनेता अनिल सुब्बाको एकल अभिनय र उनको जीवन्त प्रस्तुति नै नाटकको मुख्य केन्द्रविन्दु रहनेछ ।

‘साइलेन्ट एक्ट’ को सहकार्य तथा ‘एक थिएटर नेपाल’ को प्रस्तुतिमा मञ्चन हुन लागेको यस नाटकमा अभिनेता अनिल सुब्बाले समाजका ओझेलमा पारिएका अल्पसंख्यक समुदायको मुद्दालाई एक्लै आफ्नो अभिनयको काँधमा बोकेका छन् । समाजका अल्पसंख्यक मानिसहरूलाई बहुसंख्यकले कसरी ओझेलमा पारेका छन् र तिनीहरूको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारलाई कसरी बेवास्ता गरिएको छ भन्ने गम्भीर सामाजिक विषयलाई सुब्बाले रङ्गमञ्चमा जीवन्त रूपमा उतार्नेछन् । राज्यले कानुनमा केही अधिकार सुनिश्चित गरे पनि व्यवहारिक जीवनमा अझै परिवर्तन आउन नसकेको तितो यथार्थ र उनीहरूको कारुणिक अवस्थालाई अनिलले आफ्नो सशक्त एकल अभिनयमार्फत दर्शकमाझ प्रस्तुत गर्नेछन् ।

नाटकका परिकल्पनाकार तथा निर्देशक आर.के. मेहताले दर्शककै अत्यधिक चाहना र अनिल सुब्बाको दमदार प्रस्तुतिको क्रेजका कारण नाटकलाई पुनः मञ्चन गर्न लागिएको बताए । निर्देशक मेहताका अनुसार यो नाटक हेर्ने दर्शकमा अल्पसंख्यक समुदायप्रतिको दृष्टिकोणमा परिवर्तन आएको पाइएकाले आफ्नो टिम सफल भएको महसुस भएको छ । समाज कुनै पनि प्रकारको भेदभावबाट मुक्त होस् भन्ने उद्देश्य बोकेको यो नाटकमा उठाइएको संवेदनशील विषयलाई पाठ्पुस्तकमा समेत समावेश गरिए आउने पुस्तामा सकारात्मक परिवर्तन ल्याउन अझ सजिलो हुने मेहता बताउँछन् ।

यसअघि अनिल सुब्बाको यही जीवन्त अभिनयको जादू नेपालका काठमाडौँ, ललितपुर, दोलखा, पोखरा, र झापा लगायतका विभिन्न स्थानमा छाइसकेको छ । नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत भारतको दिल्ली र गुवाहाटीमा आयोजित ‘अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभल’ मा समेत यो नाटक र अनिलको अभिनयले निकै प्रशंसा बटुलेको थियो । सामाजिक रूपान्तरणको बलियो सन्देश बोकेको यो नाटकमा अनिल सुब्बाको एकल अभिनय हेर्न पाउनु नेपाली रङ्गमञ्चप्रेमीहरूका लागि पुनः एउटा सुखद र विशेष अवसर बन्ने निश्चित छ ।

Leave A Reply

Your email address will not be published.