सुचना, समाचार र मनोरन्जन

मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार

कास्की, 

यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।

श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो ।

गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले मानवीय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिसअनुसार निर्णय गरिएको बताए ।

उनका अनुसार स्व श्रीपतिको स्मृति र सम्मान राष्ट्रियस्तरमा फैलाउने उद्देश्यअनुरुप नेपालभर रहेर उत्कृष्ट समाज सेवा गरी उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ ।

मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको हितका काम गर्दै आएको छ । आश्रमले बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित भई तिनीहरूको मानवोचित व्यवस्थापन गरी समाज सेवामा विशिष्ट पहिचान स्थापित गरेको छ । मकानपुरमा केन्द्रीय कार्यालय रहेको आश्रमको हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ ।

गुठीले विसं २०७९ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ । पहिलोपटक माइती नेपाललाई प्रदान गरी सुरुआत गरिएको थियो । त्यसपछि राष्ट्रिय आविस्कार केन्द्र काठमाडौँ, पद्यम भुवनेश्वरी नमूना सेवाश्रम सर्लाही, विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा र गत वर्ष तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका निर्देशक डा सन्दुक रुइत सम्मानित भएका छन् ।

पोखरा–४ गैहपाटनमा विसं १८६४ असार २७ गते जन्मिएका श्रीपतिले अध्ययनको सिलसिलामा भारत वनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र तन्त्रविद्या, आर्युर्वेदलगायतको उच्च शिक्षा अध्ययन गर्नु भई सरकारी जागिरको साथ साथै धार्मिक तथा समाजसेवा र मानवकल्याणमा आफ्नो जीवन व्यतीत गरेका थिए ।

उनले पोखरा र पर्वतमा जग्गा खरिद गरी पाटीपौवा, मन्दिर स्थापना गरी साधुसन्त बटुवा र सन्न्यासीका लागि बाटो, चौतारा, पौवा समेत बनाएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

स्व श्रीपतिले स्थापना गरेका मन्दिर पौवा र ऐतिहासिक विरासतलाई संरक्षण गर्दै उनको मानव कल्याणको अभियानलाई जीवन्त वनाई राख्ने उद्देश्यले विभिन्न विधामा पुरस्कार छात्रवृत्ति, आर्थिक सहयोगका कार्यक्रम गुठीले गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.