प्रमिला कुँवर, पोखरा
नेपाली खाना भन्नासाथ दाल–भातसँगै अचारको स्वाद सम्झना आउँछ । नेपाली भान्साको अभिन्न हिस्सा बनेको यही अचारलाई स्थानीय स्वाद र परम्परागत रेसिपीसहित विश्व बजारसम्म पु¥याउने यात्रामा छ पोखरा दिपमा रहेको ‘हरिलो’। ‘हरियो’ र ‘लोकल’(स्थानीय)को संयोजनबाट हरिलो नाम राखिएको यसका सञ्चालक प्रकाश आचार्य बताउँछन् । ‘हरिलो’ले स्वस्थकर, शुद्ध र स्थानीय उत्पादनलाई बजारमा स्थापित गर्ने उद्देश्य बोकेको उनको भनाइ छ ।
सुरुमा सेलरोटी मात्र बनाउने योजना थियो । तर ग्राहकले सेलरोटीसँग अचार पनि खोज्न थाले । त्यसपछि मुलाको अचारबाट उत्पादन विस्तार गरियो । लप्सीको अचार थपियो । ग्राहकको माग बढ्दै जाँदा ‘हरिलो’मा विभिन्न प्रकारका अचार तयार हुन थाले । कोभिड–१९ महामारी अघि सुरु गरिएको व्यवसाय घरकै भान्साबाट सञ्चालन गरिएको उनले बताए । त्यसबेला उत्पादन सीमित थियो र बिक्री पनि अनलाइनमै केन्द्रित थियो । ग्राहकको सकारात्मक प्रतिक्रियाले उनलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास दिएको उनले सुनाए । ‘मेरी श्रीमती रोशनी शर्माले घरबाटै केहि गरौं भनेर सुरु गरेको यो सानो प्रयास केही वर्षमै पोखरा हुँदै देशभर र अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया र यूएईसम्म पुग्छ भन्ने कल्पना गरेको थिइन,’ उनले उत्साहित हुँदै भने ।
‘हरिलो’ले शाकाहारी अचार मात्रै १६ प्रकारका उत्पादन गर्छ जसमा चार प्रकारका ‘छोप’ अचार समावेश छन् । टिमुर,लसुन, भाङ,सिलामका छोप अचार ग्राहकबीच लोकप्रिय छन् । मासुजन्य उत्पादनमा चिकेन, चिकेन सितन, बफ र मटन अचार, बफ र मटनको सुकुटी तथा विभिन्न प्रकारका ‘मिट स्न्याक’ उत्पादन गरिन्छ । हरिलाेकाे स्टाेर पाेखरा ३ नदिपुरमा रहेकाे छ । मौसमअनुसार गुन्द्रुक र मस्यौरा पनि उत्पादन गरिने उनले जानकारी दिए । आचार्यका अनुसार उत्पादन अनुमानित मागका आधारमा गरिन्छ ताकि गुणस्तर कायम रहोस् र नोक्सानी नहोस् ।
उनका अनुसार उत्पादन तयार गर्दा तीन कुरालाई मुख्य आधार बनाइन्छ, हेर्दा आकर्षक होस्, स्वादमा परम्परागतपन झल्कियोस् र स्वास्थ्यका दृष्टिले सुरक्षित होस् । आचार्र्य भन्छन्, ‘हामी ग्राहकलाई स्वस्थकर र गुणस्तरीय खाना उपलब्ध गराउन चाहन्छौं । उत्पादनमा आफ्नोपन कायम राख्न खोज्छौं । स्थानीय परम्परागत स्वाद हराउन नदिन होममेड शैलीलाई प्राथमिकता दिन्छौं । अलिकति महँगो परे पनि हस्तनिर्मित उत्पादनमै जान्छौं । ग्राहकले हाम्रो उत्पादन खाँदा स्थानीय स्वादको अनुभूति गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।’
हरिलोका उत्पादन अहिले पोखराका डिपार्टमेन्ट स्टोरमा मात्र सीमित छैनन् । चेनमार्टमार्फत देशभर पुगिरहेका छन् । भाटभटेनी, बिगमार्ट लगायतका प्रमुख स्टोरमा उत्पादन बिक्री हुन्छ । काठमाडौं, स्याङ्जा, बागलुङ र तनहुँमा वितरक छन् भने किराना पसल र मदिरा पसलमा समेत मासुजन्य स्न्याक बिक्री भइरहेको उनले बताए ।
विदेशमा समेत नेपाली स्वादको माग बढिरहेको छ । अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा उत्पादन निर्यात भइरहेको छ । यूएई अहिले सबैभन्दा राम्रो बजार बनेको छ भने कतारमा पनि निर्यात सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

उत्पादनका लागि कच्चा पदार्थ सकेसम्म स्थानीय बजारबाट संकलन गरिने उनको भनाइ छ । लप्सी पर्वतबाट आउँछ । टिमुर प्युठान र सल्यानबाट ल्याइन्छ । बफ सुकुटीका लागि आवश्यक मासु नेपालगञ्ज र धरानबाट ल्याउनुपर्छ । ‘ग्राहकको सकारात्मक प्रक्रिया आएपछि अझ राम्रो गर्ने हौसला मिल्यो,’ उनी सम्झन्छन्, ग्राहकको विश्वासले व्यवसाय र उत्पादन विस्तार गर्ने तथा अघि बढ्न प्रेरणा दियो ।’
आचार्यको बुझाइमा साना तथा मझौला उद्योगलाई संरक्षण र प्रोत्साहन नगरी देशको आर्थिक समृद्धि सम्भव छैन । स्थानीय उत्पादन किन्न उपभोक्ता तयार हुनुपर्छ । गुणस्तर राम्रो छ भने पाँच/दस रुपैयाँ महँगो परे पनि नेपाली उत्पादन रोज्नुपर्ने उनको धारणा छ । नेपालीले नेपाली वस्तु प्रयोग गर्न थालेपछि मात्र स्थानीय उद्योग बलियो बन्ने उनको भनाइ छ ।
उनलाई विदेश जाने सोच नआउने त होइन तर देशमै केहि गर्ने इच्छाले उनलाई रोक्यो । हामीले नगरे कसले गर्र्ने भावना थियो उनीमा । सुरुमा धेरै योजना थिएन । असफल भएमा सुधार गर्दै अघि बढ्ने सोच थियो उनको । नेपालमा व्यवसाय सञ्चालन गर्नु सहज वातावरण नभए पनि संर्घष गरेमा सफल हुन सकिने विश्वाससँग उनी अघि बढिरहेका छन् ।
व्यवसाय विस्तारसँगै प्रकाशले धेरै प्रशासनिक र नीतिगत समस्याको सामना गरेका छन् । ‘न्युट्रिसन फ्याक्ट’ परीक्षण गराउँदै आइरहेको स्थानीय ल्याब अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएको भन्दै खाद्य कार्यालयले अस्वीकार गरेको उनको गुनासो छ । ‘प्रत्येक उत्पादन अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबमा परीक्षण गराउनुपर्छ । एउटा आइटम परीक्षण गर्न करिब १० हजार रुपैयाँ खर्च हुन्छ । हाम्रो ३२ वटा उत्पादन छन्। परीक्षणमै तीन लाख २० हजार रुपैयाँ लाग्छ । सरकारी ल्याब स्वीकृत हुन सकेमा साना उद्योगलाई ठूलो राहत हुने थियो,’ उनी भन्छन् ।
हरिलोका केही उत्पादन विदेश पुगिसके पनि सबै उत्पादन अन्तर्राष्ट्रिय बजारमा लैजान सकिएको छैन । नेपालमा भैँसीमा देखिने खोरट रोगका कारण बफ सुकुटी युरोप निर्यात गर्न नसकिएको आचार्य बताउँछन् । उनका अनुसार यो रोग उन्मूलन गर्न सके नेपाली मासुजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना धेरै छ ।
