सुचना, समाचार र मनोरन्जन

‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय

काठमाडौं :

बहुप्रतीक्षित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ मा समावेश पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको सार्वजनिक गीतमा नेपालका प्रख्यात र प्रिय कलाकारहरूको बलियो उपस्थिति देखिएको छ। सार्वजनिक भिडियोमा बहुआयामिक अभिनेता दयाहाङ राई, हास्य तथा चरित्र अभिनयमा अब्बल बुद्धि तामाङ र विल्सन विक्रम राईका साथै नवोदित तथा स्थापित कलाकारहरूको आकर्षक अभिनय र मौलिक नृत्य प्रस्तुति देख्न सकिन्छ।

चलचित्रमा स्थापित कलाकारहरू गौमाया गुरुङ र स्वयं अभिनेता तथा निर्देशक माओत्से गुरुङको समेत मुख्य अभिनय रहेको छ। सार्वजनिक गीत ‘जुनी जाला’ ले गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक ग्रामीण जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसमा कलाकारहरूले स्थानीय जनजीवनलाई जीवन्त रूपमा पर्दामा उतारेका छन्। यस चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधर जस्ता अनुभवी कलाकारहरूको समेत सशक्त अभिनय रहेको छ।

निर्देशक माओत्से गुरुङका अनुसार चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ, जसमा यी कलाकारहरूले आ-आफ्नो चरित्रमार्फत गाउँले परिवेश, पारिवारिक सम्बन्ध र जीवनको लक्ष्य प्राप्तिका लागि गरिने संघर्षलाई अत्यन्तै प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। कलाकारहरूको यस जीवन्त अभिनयलाई पर्दामा सजाउन कमलबहादुर गुरुङले कोरियोग्राफी गरेका हुन् भने हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको यस गीतमा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले स्वर दिएका छन्।

नेपाली चलचित्रका स्टार कलाकारहरूको अभिनय रहेकै कारण ‘पेन्सन पट्टा’ ले प्रदर्शन अगावै अन्तर्राष्ट्रिय बजारमा राम्रो चर्चा कमाएको छ। हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि यसको प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशहरूसँग पनि छलफल चलिरहेको छ। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको र आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले दयाहाङ राई र बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरूको अभिनयका कारण दर्शकहरूमाझ हलसम्म पुग्ने विशेष कौतुहलता र आकर्षण सिर्जना गर्ने निर्माण पक्षको विश्वास छ।

Leave A Reply

Your email address will not be published.