काठमाडौं :
युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्।
सोमबार निर्माण पक्ष र कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरिएको थियो।
रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल ३’ बाट एकैसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका कलाकार हुन्। रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो पर्दामा प्रवेश गरेका सन्तोष बानियाँका लागि ‘ल्याङ्ग ल्याङ्ग’ विशेष हुने देखिएको छ । ‘होस्टेल ३’ पछि उनले ‘गोबर गणेश’ र ‘कस्तुरी’ जस्ता चलचित्रमा काम गरिसकेका छन् ।
यसअघिका चलचित्रहरूमा सहयोगी भूमिकामा देखिँदै आएका सन्तोषलाई यसपटक भने निर्देशक चौहानले ‘लिडिङ क्यारेक्टर’को रूपमा प्रस्तुत गर्न लागेका हुन् । बानियाँको अभिनय क्षमता र चरित्रमा भिज्न सक्ने खुबीका कारण उनलाई मुख्य भूमिकामा छनोट गरिएको निर्माण पक्षको दाबी छ ।
निर्देशक चौहान भन्छन्, “अहिले हामी कलाकार र प्राविधिक टिमलाई पूर्णता दिने क्रममा छौँ । केही स्थापित र केही प्रतिभावान नयाँ अनुहारहरूसँग कुरा भइरहेको छ । छिट्टै हामी सम्पूर्ण टिमको औपचारिक घोषणा गरेर छायांकनमा निस्कनेछौँ ।”
स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’, एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् । चलचित्रले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने बुझिएको छ ।
निर्देशक चौहानले केही समयअघि सार्वजनिक गरेको थिम पोस्टरमा लेखिएको थियो, ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ । यस वाक्य र पोस्टरको चित्रणले चलचित्रमा प्रेम, धोका र त्यसपछिको मानसिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको संकेत गर्छ ।
गत वर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका बलिराम चौहानले सो चलचित्रबाट समीक्षकको राम्रो साथ पाएका थिए । यद्यपि, निर्वाचनको समय र राजनीतिक माहोलका कारण उनको पहिलो चलचित्रले व्यावसायिक सफलता पाउन कठिन भएको थियो । सोही अनुभवलाई शक्तिमा बदल्दै चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत दर्शकको मन जित्ने तयारीमा छन्।
चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन्। अहिले चलचित्रको प्रि-प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको छ ।