काठमाडौँ :
संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन बिनाको धन–२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले फिल्मको एक मुख्य भुमिकाका लागि अनुबन्ध गरेको हो।
निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ। गौरी मल्लको प्रवेशसँगै फिल्मको कलाकार टिम सशक्त बनेको छ। यो फिल्मका लागि गौरी मल्लअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी,किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतलाई निर्माण टिमले अनुबन्ध गरेको थियो।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन्।
पहिलो श्रृंखला ‘मन बिनाको धन’ मा अभिनय गरेका अशोक दर्जी र एआर बुढाथोकी दोस्रो भागमा रहने वा नरहनेबारे निर्माण पक्षले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन। भदौको पहिलो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि खिचिने छ।