काठमाडौं :
चीनको हुनान प्रान्तस्थित छाङ्सामा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का उत्कृष्ट कलाकारहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। डा। सिमोन किउको संयोजकत्वमा चिनियाँ फिल्म विज्ञहरूले गरेको मूल्याङ्कनका आधारमा अभिनेता दीपकराज गिरी र अभिनेत्री मिरुना मगर शीर्ष अभिनय विधामा उत्कृष्ट घोषित भएका हुन्।
आयोजकका अनुसार चलचित्र ‘छक्का पञ्जा’ बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने ‘कबड्डी ४’ बाट मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको ट्रफी चुमिन्। काठमाडौंमा सम्पन्न सोही समारोहमा दुवै जनालाई जनही १ हजार अमेरिकी डलर ९करिब १ लाख ३५ हजार रुपैयाँभन्दा बढी० नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरियो।
नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा भएको उक्त अवार्ड समारोहमा चीनबाट आएको ८ सदस्यीय प्रतिनिधिमण्डलका साथै नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहका प्रमुख अतिथि वरिष्ठ अभिनेता हरिहर शर्माको आह्वानमा उपस्थित सम्पूर्ण कलाकार तथा चलचित्रकर्मीहरूले उठेर चिनियाँ प्रतिनिधिमण्डललाई ‘स्ट्यान्डिङ ओभेसन’ दिँदै सम्मान प्रकट गरेका थिए।
कलाकारहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तारका हिसाबले यो फेस्टिभल महत्त्वपूर्ण बनेको छ। कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूले नेपाली कलाकारहरूसँगको सहकार्यमा चलचित्र सह(उत्पादन गर्ने र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरी निर्मित नेपाली सिनेमालाई चीनका प्रमुख ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।