सुचना, समाचार र मनोरन्जन

पर्यटनको त्रिवेणी: पूर्वाधार, पहिचान र समृद्धि

सुरेश रानाभाट/प्रधान सम्पादक :

नेपालको भौगोलिक बनावट र सांस्कृतिक बनोट आफैँमा एउटा जीवन्त सङ्ग्रहालय हो। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लुम्बिनीको शान्तितपोवनसम्म फैलिएको यो मुलुक प्रकृतिको अनुपम वरदान मात्र होइनबरु हिन्दुजमबद्धिजम र टुरिजमको एउटा यस्तो त्रिवेणी होजसले नेपाललाई विश्व मानचित्रमा विशिष्ट पहिचान दिलाएको छ। टोनी हेगनले आफ्नो पदचापमार्फत चिनाएकोजापानी भिक्षु एकाई कावागुचीले आध्यात्मिक गहिराइमा खोजेको र जुल्स रिचार्डजस्ता अध्येताहरूले मोहित भएर वर्णन गरेको यो भूमि यतिबेला आफ्नो अथाह सम्भावनालाई आर्थिक समृद्धिमा बदल्न छटपटाइरहेको छ। विशेषगरीपोखरासुदूरपश्चिमको बडिमालिकाखप्तड र अपि-साइपाल जस्ता भू-स्वर्गहरूको चर्चा चुलिँदै गर्दा राज्यको लगानी र पूर्वाधारको अभाव भने एउटा गम्भीर तगारोका रूपमा खडा भएको छ।

नेपालको प्रकृति र संस्कृति विश्वकै लागि दुर्लभ सम्पत्ति भए पनि पूर्वाधारको अभावले यो केवल हेर्न लायक मात्र बनेको छबस्न र रमाउन लायक अझै बन्न सकेको छैन।

नेपालको पर्यटन क्षेत्रलाई विश्लेषण गर्दा हामीले यहाँका तीनवटा मुख्य इजमलाई भुल्न मिल्दैन। हिन्दु धर्मको आस्थाको केन्द्र पशुपतिनाथ र मुक्तिनाथदेखि बडिमालिकासम्मको शक्तिपीठहरूले विश्वभरका करिब १ अर्बभन्दा बढी हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने सामर्थ्य राख्छन्। अर्कोतिरगौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वका आधा अर्बभन्दा बढी बौद्ध मार्गीहरूका लागि नेपाललाई जीवनमा एक पटक पुग्नै पर्ने तीर्थस्थल बनाएको छ। जब यी दुई आध्यात्मिक खम्बाहरूलाई साहसिक र प्राकृतिक पर्यटनसँग जोडिन्छतब नेपालको पर्यटन उद्योगले एउटा अपराजेय रूप धारण गर्छ। तरविडम्बना ! हामीसँग हिरा त छतर त्यसलाई काट्ने र टल्काउने पूर्वाधार र मार्केटिङ सीप र जाँगरको अभाव छ।

सुदूरपश्चिम प्रदेशको सन्दर्भ यतिबेला निकै सान्दर्भिक छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्वाचनका क्रममा बडिमालिकालाई स्विट्जरल्यान्डको बाउ भनेर दिएको उपमा केवल एउटा राजनीतिक भाषण मात्र थिएनबरु त्यो त नेपालका उपेक्षित गन्तव्यहरूको वास्तविक ऐना थियो। १२ बन्ड र १८ खण्डको रामारोशनभू-स्वर्ग खप्तड र गगनचुम्बी साइपाल तथा अपि हिमालहरू पर्यटकका लागि प्रतिक्षारत छन्। तथ्याङ्कले भन्छ २०७५ यता खप्तड पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ भने अपि र साइपालको बेसक्याम्पमा पुग्नेहरूको लर्को पनि बढ्दो छ। प्रधानमन्त्री शाहले अपि हिमालको काखमा क्रिकेट खेलेको भिडियोले युवा पुस्तामा जुन ऊर्जा भरेको छत्यसलाई आर्थिक अवसरमा बदल्न अब ढिला गर्नु हुँदैन।

यद्यपिसम्भावनाको यो पहाडमुनि एउटा तीतो यथार्थ लुकेको छ जोखिमपूर्ण यात्रा र पूर्वाधारको शून्यता। एउटा पर्यटकको टोली साइपालको माजा उपत्यका पुग्न नपाई बीचैबाट फर्किनुपर्ने अवस्था आउनु राष्ट्रिय लज्जाको विषय हो। दुवैतिर भीर र बीचमा झाडीले भरिएको साघुरो गोरेटोमा ज्यान जोखिममा राखेर कतिञ्जेल साहसिक पर्यटनको नारा घन्काउनेपदमार्गव्यवस्थित आवासस्वच्छ खानेपानीशौचालय र सञ्चार सम्पर्क जस्ता आधारभूत सुविधा नहुँदा एक पटक पुगेको पर्यटकले फर्किएर फेरि नजान दिने सल्लाहले हाम्रो पर्यटन उद्योगलाई दीर्घकालीन असर पारिरहेको छ।

छिमेकी भारत र चीनको १ प्रतिशत जनसङ्ख्या मात्रै नेपाल भित्र्याउन सक्ने हो भने हाम्रो अर्थतन्त्रको इन्जिनले विश्वकै द्रुत गति समात्न सक्छयसका लागि धार्मिक आस्थालाई सुविधायुक्त पर्यटनसँग जोड्नु अनिवार्य छ।

नेपालको पर्यटनका लागि हाम्रा दुई छिमेकी मुलुकहरू भारत र चीन एउटा विशाल बजार हुन्। यी दुई देशको कुल जनसङ्ख्याको केवल १ प्रतिशत हिस्सालाई मात्र हामीले गुणस्तरीय सेवा दिएर नेपाल भित्र्याउन सक्यौँ भने हाम्रो अर्थतन्त्रले अकल्पनीय छलाङ मार्नेछ। भारतीय पर्यटकहरूका लागि सुदूरपश्चिमका धार्मिक स्थलहरू र चिनियाँ पर्यटकका लागि हिमाली दृश्य तथा बुद्ध दर्शनको प्रवर्द्धन गर्ने हो भने हामीले डलरका लागि सात समुद्र पारका पर्यटक कुरिरहनु पर्दैन। तरयसका लागि भैरहवा र पोखरा जस्ता अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र सीमा नाकादेखि पर्यटकीय गन्तव्यसम्मको सडक सञ्जाललाई चुस्त बनाउनु पहिलो सर्त हो।

आलोचनात्मक दृष्टिकोणबाट हेर्दापर्यटन क्षेत्रमा राज्यको लगानी अझै पनि टावर बनाउने र उद्घाटन गर्ने कर्मकाण्डमा मात्र सीमित छ। स्थानीय सरकारहरूले होमस्टेलाई प्रोत्साहन गर्ने भनिए पनि तिनको गुणस्तर मापन र प्राविधिक सहयोगमा ध्यान दिएका छैनन्। संघीय सरकारले ठुला परियोजनामा आँखा लगाउँदा पदमार्ग र सूचना बोर्ड जस्ता मसिना तर महत्त्वपूर्ण पक्षहरू ओझेलमा परेका छन्। पर्यटन केवल घुमघाम होइनयो त स्थानीय उत्पादन कोदोफापरमहजडीबुटीलाई विश्व बजारसँग जोड्ने र तल्लो तहका नागरिकको जीवनस्तर सुधार्ने आर्थिक इन्जिन हो।

पर्यटन विकास भनेको केवल होटल र सडक मात्र होइनयो त मौलिक संस्कृतिसामाजिक विविधता र जैविक विविधताको संरक्षण गर्दै त्यसलाई विश्वस्तरमा ब्रान्डिङ गर्ने कला हो।

नेपाल जस्तो देशका लागि पर्यटन केवल एउटा विकल्प होइनबरु यो त समृद्धिको एक मात्र दिगो मार्ग हो। नेपालको प्राकृतिक सौन्दर्यलाई पूर्वाधारको जगमा उभ्याएर भिजिट नेपालको सपनालाई साकार पार्न तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रको सहभागिता अनिवार्य छ। तालिमप्राप्त गाइडडिजिटल म्यापिङमौसम पूर्वानुमान प्रणाली र आपत्कालीन उद्धार केन्द्रहरूको स्थापनाले पर्यटकमा सुरक्षाको विश्वास दिलाउँछ। जबसम्म एक पर्यटकले नेपालको यात्रा गर्दा आफूलाई सुरक्षित र सम्मानित महसुस गर्दैनतबसम्म हाम्रा सुन्दर हिमाल र मन्दिरहरू केवल फोटोका विषय मात्र रहिरहनेछन्।

अबको बाटो स्पष्ट छ धार्मिक आस्थाका हिन्दु र बौद्ध मार्गीहरूलाई सुविधायुक्त बाटो दिऔँसाहसिक पर्यटकहरूका लागि सुरक्षित पदमार्ग बनाऔँ र प्रकृतिप्रेमीहरूका लागि मौलिक आतिथ्यताको ढोका खोलौँ। पर्यटनमा गरिएको आजको सानो लगानीले भोलि सिंगो राष्ट्रको भविष्य उजिल्याउनेछ। सुदूरपश्चिमको अपि र साइपालले मात्र होइनसिंगो नेपालले यतिबेला पूर्वाधार र नयाँ सोचको प्रतीक्षा गरिरहेको छ। नयाँ सरकारले यो अवसरलाई परिणाममा बदलोस्शुभकामना !

Leave A Reply

Your email address will not be published.