काठमाडौँ :
वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप बदलिँदै गएकाले यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको तत्काल आवश्यकता रहेको बताएका छन्। विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधिको दुरुपयोग, बेरोजगारी र राजनीतिक अस्थिरताका कारण मानव तस्करीको जोखिम झन् चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।
अहिलेको समयमा मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई सर्वसाधारणलाई प्रलोभनमा पार्न सहज बनाएको आचार्यको भनाइ छ। पहिले चेलीबेटी बेचबिखनमा मात्र सीमित देखिएको यो समस्या अहिले युवा तथा बालबालिकाहरूमा समेत विस्तार भएको भन्दै उनले वैदेशिक रोजगारीको मोह र बेरोजगारीको फाइदा तस्करहरूले उठाइरहेको प्रति गम्भीर चिन्ता व्यक्त गरे।
कार्यक्रमका क्रममा नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता घटनाहरूतर्फ लक्षित गर्दै उनले राजनीतिक नेतृत्वकै संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गरे। नयाँ राजनीतिक संस्कार र सोचका साथ अघि बढे मात्र यस्ता गम्भीर अपराध समाधान हुन सक्ने उनले ठोकुवा गरे।
विगतमा ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा गीतमार्फत सचेतना फैलाउँदै आएको स्मरण गराउँदै आचार्यले आगामी दिनमा पनि अडियो(भिजुअल माध्यमबाट आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहने प्रतिबद्धता जनाए। साथै, सामाजिक काममा सक्रिय कलाकारहरूमाथि हुने अनर्गल प्रचारको खण्डन गर्दै उनले साइबर अपराध नियन्त्रणमा नेपाल प्रहरीले अझ प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।