सुचना, समाचार र मनोरन्जन

रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान

पोखरा :

 नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसका अवसरमा पोखरामा एक विशेष कार्यक्रम आयोजना गरी ६०० भन्दा बढी संघ-संस्थामार्फत वार्षिक ४० हजार युनिट रगत संकलन भइरहेको जानकारी गराउँदै रक्तसञ्चार क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने ४५ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। कार्यक्रममा २५ जना अग्रणी रक्तदाता र २० वटा विभिन्न संघ-संस्थालाई संस्थागत सम्मान प्रदान गरिएको हो।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा ८५ औँ पटक रक्तदान गर्ने अभियन्ता कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। अग्रज रक्तदाता थापा २०५५ सालदेखि निरन्तर रक्तदानका साथै विभिन्न समयमा रक्त संकलन अभियान र सामाजिक संस्थाहरूको नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका छन्।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाण्डेले रेडक्रसको मानवीय अभियानमा प्रदेश सरकार सधैँ साथमा रहेको प्रतिबद्धता व्यक्त गरे। उनले गण्डकी प्रदेश सरकारले जोखिममा परेका नागरिकको ज्यान जोगाउन रेडक्रसमार्फत प्रदेशभरका बिरामीलाई निःशुल्क रगत वितरण गरिरहेको जानकारी गराउँदै सरकारका तर्फबाट आवश्यक सबै सहयोग रहने विश्वास दिलाए। यस्तै, कार्यक्रमका अर्का वक्ता अर्जुन ज्ञवालीले पोखरामा संकलित रगत प्रदेशभरका बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए।

समारोहमा रेडक्रस कास्कीका पूर्व सभापतिहरू डण्डराज शर्मा र ढोलराज पाण्डे, पूर्व उपसभापति धर्मराज अधिकारी, ब्रह्माकुमारी दिदी शोभा, राजनीतिक व्यक्तित्वहरू शोभियत बहादुर अधिकारी र योगेन्द्र केसी, तथा पोखरा वडा नम्बर १७ की अध्यक्ष राधिका कुमारी शाही लगायतले रेडक्रसले गर्दै आएका मानवीय सेवाका विविध आयामबारे चर्चा गरेका थिए। रक्तदानमार्फत मानवीय सेवामा अतुलनीय योगदान पुर्‍याएबापत पूर्व उपसभापति धर्मराज अधिकारीलाई कार्यक्रममा ‘विशेष स्वयंसेवा सम्मान’बाट सम्मानित गरियो।

यसैगरी, नियमित रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलनमा योगदान पुर्‍याउने लायन्स क्लब अफ शुक्लागण्डकी, मदरल्याण्ड माध्यमिक विद्यालय, नेरेसो पोखरा-१५ उपशाखा, लायन्स क्लब अफ पोखरा फेस्टेल सिटी, जुरेसो रेन्बो एकेडेमी होम्स्, ब्रह्माकुमारी ईश्वरी विश्व विश्वविद्यालय, गुरुङ गहना घर, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा, द आर्ट अफ लिभिङ, कालिका सेकेण्डरी स्कूल, राष्ट्रिय युवा संघ नेपाल, नेपाल बीमा प्राधिकरण, बागलुङ समाज पोखरा, कदममार्ग टोल विकास संस्था, नेपाल एस.बि.आई. बैंक, नेपाल विद्युत प्राधिकरण, लायन्स क्लब अफ मर्दी हिमाल र शान्तीदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटलाई संस्थागत सम्मान प्रदान गरियो। साथै, आफ्नो जन्मदिनको अवसरमा रक्तदान आयोजना गरी सामाजिक उदाहरण प्रस्तुत गरेका पोखरा-१५ का वडा सदस्य आशिष भण्डारीलाई पनि सोही अवसरमा कदरपत्रसहित संस्थागत सम्मान समर्पण गरियो।

कार्यक्रममा सम्मानित संस्थाहरूका तर्फबाट दीपेन्द्र श्रेष्ठ, वरदान क्षेत्री, रोशन थापा, शिवबहादुर भण्डारी, भिमा पौडेल, अनिशा बराल, सिर्जना ब्रह्माकुमारी, सीमा गुरुङ, योगेन्द्र केसी, डा. डोनजन बहादुर क्षेत्री लामिछाने, बासुदेव अधिकारी, उमेश गुरुङ, शम्भुप्रसाद मिश्र, नरेश सुवेदी, बाबुराम कार्की, वसन्त गुरागाईँ, नारायण पन्थी, तीर्थराज अवस्थी र हरिश्चन्द्र शर्मा लगायतका प्रतिनिधिहरूले सम्मान ग्रहण गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले गरेका थिए।

Leave A Reply

Your email address will not be published.