सुचना, समाचार र मनोरन्जन

आमाको सपना साकार पार्दै गुराँस ढकाल,सहायक भूमिकादेखि ‘ल्याङ्ग ल्याङ्ग’को हिरोइनसम्म

काठमाडौंँ :

बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन्।

बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित हुने गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यका साथ निरन्तर सिकाइ, प्रशिक्षण र मेहनत गर्दै आएकी छन्। निर्देशक चौहानका अनुसार गुराँस सिनेमामा एक्लि अभिनेत्री हुन्। सिनेमाको पात्र अनुसार मिल्दो भूमिकामा फिट भएपछि बुधबार उनलाई निर्माण टिमले सिनेमामा अनुबन्धित गरेको हो।

यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन्। निर्माण टिम अझै एक अभिनेताको खोजीमा छन्। अब एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुने निर्देशक चौहानले बताए। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ। विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए।

कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रीत ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्। सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने टिमको दाबी छ।

यो सिनेमाको मुख्य भूमिकामा छोरी गुराँस अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले भावुक पोस्ट लेखेकी छन्। उनले लेखेकी छन्, ‘छोरी जम्मा सात महिनाकी हुँदा नै मैले उसलाई नाटकमा खेलाएँ । जहाँ-जहाँ मेरो स्टेज कार्यक्रम हुन्थ्यो, म उसलाई पनि सँगै लिएर जान्थेँ । मनमनै एउटा सपना बोकेकी थिए। एक दिन मेरी छोरीलाई कुशल कलाकार बनाउँछु।’

उनले अगाडी लेखेकी छन्, ‘यो त केवल सुरुवात हो, अझै धेरै टाढा जानु छ, अझै धेरै सपना पूरा गर्न बाँकी छ। आज एउटा ढोका खुलेको छ, अब मेरी छोरीले आफ्नै मेहनत, प्रतिभा र लगनले आफ्नो छुट्टै पहिचान बनाउने छे। म उसको हरेक सपनाको पछाडि उभिएर, हरेक पाइला-पाइलामा उसको साथ दिनेछु । अब तिम्रो यात्रा सुरु भएको छ । यो सुरुवात हो, अन्त्य होइन । अझै धेरै सपना छन्, अझै धेरै उडान बाँकी छ । भगवान्लाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद । आमा सधैँ तिम्रो साथमा हुनेछिन् ।’

असोज पहिलो हप्ताबाट फ्‌लोरमा निस्कने तयारीमा रहेको सिनेमा भोलानाथ कटवालको लगानीमा बन्नेछ। हाल धमाधम प्रि–प्रोडक्सनको काम भैरहेको सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् ।

Leave A Reply

Your email address will not be published.