काठमाडौं :
विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएर घरेलु दर्शकमाझ आइपुगेको चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन पाएको छ।
बुधबार काठमाडौंको सुन्धारास्थित सिभिल महलमा आयोजना गरिएको भोटेकोसी बाढी पीडितका लागि च्यारिटीसहितको प्रिमियरमा सिनेमा हेरेका दर्शकले कास्ट एन्ड क्रियूलाई पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन दिएका हुन्।
कार्यक्रममा देश प्राकृतिक विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त विशेष प्रदर्शनबाट आमन्त्रित दर्शकहरूले स्वेच्छाले गर्नुभएको सहयोग तथा चलचित्रका निर्माताहरूको तर्फबाट उठेको सबै रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो।
अभिनेत्री मनीषा कोइराला, करिष्मा मानन्धर, ऋचा शर्मा, उषा रजक,अभिनेता नाजिर हुसेन, दिव्य देव, निर्देशक नवीन सुब्बा, प्रदिप भट्टराई, दीपेन्द्र लामा, प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विदुषी राणालगायत विभिन्न क्षेत्रका दिग्गज व्यक्ति तथा पत्रकार उपस्थित रहेको स्क्रिनिङमा सिनेमाको सबैले तारिफ गरेका छन्। सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई हात्तीको बिम्वसँग जोडेर बुनिएको सिनेमाको कथाले दर्शकलाई बाँधेर राख्ने र दर्शकलाई मन पर्ने सिनेमा हेर्नेहरूको प्रतिक्रिया छ।
तराईको एक जंगल छेउ बस्ने स्थानीयले भोग्ने हात्ति आतंकलाई यौनिक तथा अल्पसंख्यक समुदायको पारिवारिक तथा सामाजिक बहिष्करणको पीडासँग जोडेर बनाइएको सिनेमाको चलचित्र हेर्नेहरूले प्रशंसा गरेका छन्। अभिनयसँगै सिनेमाको प्राविधिकपक्षको पनि तारिफ गरिएको छ । प्रिमियरमा जस्तै माया शुक्रबारबाट हलमा दर्शकबाट पनि पाउने निर्देशक अभिनास विक्रम शाहले बताएका छन्। “सिनेमा हेरेर हामीलाई एकदम राम्रो प्रतिक्रिया आएको छ। यस्तै प्रतिक्रिया शुक्रबारबाट पनि आउने हाम्रो आशा छ,” निर्देशक शाहले भने।
चलचित्र हेरेपछि प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विदुषी राणा भावुक बनेकी थिइन्। उनले चलचित्रको प्रभावबारे बोल्दै यसको कथा र विषयवस्तु वर्तमान समयका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यो चलचित्र सबैले हेर्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन् । चलचित्रका निर्माता अनूप पौडेलले पनि विपत्तिको यस कठिन समयमा चलचित्रकर्मीका रूपमा आफूहरूले गर्न सक्ने योगदानबारे विचार गर्दै फन्ड रेजर स्क्रिनिङ आयोजना गरिएको बताए ।
भदौ १९ गते शुक्रबार (भोलि)देखि नेपालका हलहरूमा प्रदर्शनमा देशभर राम्रो शो पाएको सिनेमाले बक्सअफिसमा पनि राम्रो कलेक्सन गर्नेमा निर्माण टिम ढुक्क छ । कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरुमा पुगेर अवार्ड समेत जितिसकेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन्। निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ ।
कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ। ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ले न्युजिल्यान्डमा उत्कृष्ट चलचित्र र अडियन्स अवार्ड पनि जित्न सफल भएको थियो। यस चलचित्र आगामी दिनमा टोरन्टो, बीएफआई लण्डन, ताइपेई, बुसान र रियो लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्नेछ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ।
चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो। यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।
चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।