पोखरा,
पोखरामा मोटरसाइकल रेसिङप्रेमी तथा राइडरलाई लक्षित गर्दै ‘टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स जीपी क्वालिफायर’ आयोजना हुने भएको छ। आगामी शनिबार (कात्तिक १४ गते) पोखरा–पाल्पाटनस्थित पञ्चरत्न ड्राइभिङ स्कुलमा प्रतियोगिता हुन लागेको हो।
सात देशका २० सहरमा सञ्चालन भइरहेको यस प्रतिस्पर्धाले स्थानीय राइडरलाई रेसिङसम्बन्धी व्यावहारिक प्रशिक्षणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रममा सहभागीले प्रमाणित रेसिङ प्रशिक्षकबाट आवश्यक सीप र सुरक्षासम्बन्धी प्रशिक्षण प्राप्त गर्नुका साथै ट्र्याकमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउनेछन्।

प्रतियोगिता १६०, २०० र ३१० सीसी गरी तीन विधामा सञ्चालन हुनेछ। छनोट चरणबाट उत्कृष्ट राइडर राष्ट्रिय फाइनलका लागि छानिनेछन्। राष्ट्रिय फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन्।
प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। तर, कार्यक्रमस्थलमा उपस्थित भई चेक–इन गरेपछि उक्त रकम पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ। सहभागीलाई हेल्मेट, राइडिङ ज्याकेट र जुत्तालगायत आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराइनेछ।
रेसिङ अनुभव लिन चाहने दर्शकका लागि भने प्रवेश निःशुल्क गरिएको छ। इच्छुक राइडरले कार्यक्रमको प्रचार सामग्रीमा उपलब्ध क्यूआर कोड स्क्यान गरी नाम दर्ता गर्न सक्नेछन्।
कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुनेछ। पोखरा तथा आसपासका मोटरसाइकल राइडर र मोटरस्पोर्ट्सप्रेमीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ।