सुचना, समाचार र मनोरन्जन

युवा उद्यमशीलता र नयाँ सोचसहित उपमहासचिवमा यादवप्रसाद पोखरेलको उम्मेदवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन-२०८३ मा व्यवसायी तथा सामाजिक अभियन्ता यादवप्रसाद पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन्। ‘युवा उद्यमशीलता, नयाँ सोच र नयाँ अवसर-समृद्ध व्यवसायको आधार’ भन्ने अवधारणासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।

लामो समयदेखि व्यापार-व्यवसायसँगै विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा सक्रिय पोखरेलले व्यवसायीका समस्या, आवश्यकता र बदलिँदो बजारको चुनौतीलाई नजिकबाट बुझेको बताएका छन्। विशेषगरी युवा पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने, नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने र संघलाई व्यवसायीको समस्या समाधानमा अझ प्रभावकारी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

पोखरेल नविन फेन्सी स्टोरका सञ्चालक, मेट्रो जिन्स नेपालका प्रबन्ध निर्देशक तथा मेट्रो ग्रुप प्रालिका अध्यक्ष हुन्। व्यावसायिक अनुभवसँगै उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीको अध्यक्ष र फेन्सी व्यवसायी महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा समेत सक्रिय छन्।

सामाजिक क्षेत्रमा पनि उनको संलग्नता फराकिलो छ। उनी स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, लायन्स क्लब अफ पोखरा कैलाश चौतारीका संस्थापक अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका आजीवन सदस्य हुन्।

उम्मेदवारीसँगै पोखरेलले संघमा पद प्राप्त गर्नुभन्दा पनि व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने, पुराना व्यवसायको संरक्षणसँगै नयाँ पुस्ताका उद्यमीलाई अवसरसँग जोड्ने र निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.