पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी नविन नापितले खुला सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी व्यक्तिगत पद प्राप्तिभन्दा पनि व्यवसायीका साझा समस्या र सरोकारलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यमा केन्द्रित रहेको छ।
लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय नापित यसअघि पनि पोखरा उद्योग वाणिज्य संघको सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी सृष्टि साडी एण्ड फल्स, गण्डकी ट्रेडिङ कन्सर्न र युनिक फेशनसँग आबद्ध छन्।
नापित कपडा व्यवसायी एशोसिएसन कास्कीका पूर्वअध्यक्षसमेत हुन्। साथै समय बचत तथा ऋण सहकारी संस्था, मानव अधिकार तथा शान्ति समाज र पोखरा बहुमुखी क्याम्पसको कार्यसमिति सदस्यका रूपमा समेत सक्रिय छन्।

व्यवसायीका व्यावहारिक समस्या नजिकबाट बुझेका नापितले संघ व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि पहल गर्ने प्रभावकारी संस्था बन्नुपर्ने धारणा राखेका छन्।
निजी क्षेत्र आर्थिक तथा व्यावसायिक चुनौतीमा रहेको अवस्थामा व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, संस्थागत एकता र साझा मुद्दामा बलियो प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
“संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउनका लागि हुनुपर्छ,” नापितले भनेका छन्।
‘व्यवसायीको बलियो आवाज, साझा प्रतिबद्धता’को भावनासहित चुनावी मैदानमा रहेका नापितले आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा उद्योगी–व्यवसायीलाई सहभागी भई आफूलाई मत दिन आग्रह गरेका छन्।