सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढी : एक हजार २९० जनाको शव फेला

 

काठमाडौं : रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ। बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन्।

 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ। आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ। उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो।

 

त्यस्तै, बाढीमा परी अझै चार हजार ८१५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। त्यसमध्ये दुई हजार ३६९ पुरुष, ४७८ महिला नेपाली नागरिक रहेका छन्। प्रहरीलाई फोनमार्फत हराएको भनि जानकारी गराइएका नागरिकको सङ्ख्या एक हजार ३५० रहेको छ। विदेशी नागरिकहरूमा २७४ पुरुष र ३४४ महिला अझै बेपत्ता रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

 

बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ। ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ।

 

आठ हजार १९७ जनाको उद्धार

 

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म आठ हजार १९७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पुरुष चार हजार ६१८, महिला दुई हजार ४७२ छन्।

 

त्यस्तै, विदेशी नागरिक पुरुष ९०३ र महिला १५२ जनाको पनि उद्धार गरिएको छ। त्यसमध्ये पहिचान नखुलेका ५२ जनाकोसमेत उद्धार गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

 

सुरक्षा निकायबाट खोजी अभियान जारी

 

बाढीपछि ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेकाले सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको समन्वयमा बाढी प्रभावित क्षेत्रमा सम्भावित स्थान पहिचान गरी खोजी भइरहेको छ।

 

प्रहरीका अनुसार मृतक एक हजार १४३ जना तथा मृतकका आफन्त ७१९ जनासमेत गरी एक हजार ८६२ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ता तथा फेला परेका शवको पहिचानमा सहजता ल्याउन डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको हो।

 

९२६ शवको व्यवस्थापन

 

प्रहरीले हालसम्म ९२६ जनाको शव सुरक्षित रूपमा जमिनमा व्यवस्थापन गरिएको जनाएको छ। शवको आवश्यक प्रक्रिया पूरागरी व्यवस्थापन गर्ने कार्य जारी रहेको जनाइएको छ।

 

प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। प्राप्त सूचना तथा परिवारजनबाट आउने विवरणका आधारमा बेपत्ताको तथ्याङ्कसमेत अद्यावधिक गर्ने काम भइरहेको छ। भोटेकोशी बाढीपछि उद्धार, खोजी, शव व्यवस्थापन र बेपत्ताको पहिचानका लागि राज्यका विभिन्न निकाय परिचालन भइरहेका छन्।

 

लामो समयदेखि सम्पर्कविहीन रहेका व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त गर्न सुरक्षा निकायले खोजी अभियानलाई थप प्रभावकारी तुल्याउँदै लगेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.