सुचना, समाचार र मनोरन्जन

‘लडिन्छ तर हार्नु हुँदैन’ : आमाको आशीर्वाद बोकेर तेस्रोपटक अध्यक्षको मैदानमा अर्जुन पोखरेल

पोखरा :

“आमा सधैँ भन्नुहुन्थ्यो—लडिन्छ, तर हार्नु हुँदैन।” यही एउटा वाक्यलाई जीवनको ऊर्जा बनाउँदै व्यवसायी अर्जुन पोखरेल फेरि पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदको चुनावी मैदानमा उभिएका छन्। उनका लागि यसपटकको निर्वाचन केवल एउटा पद जित्ने प्रतिस्पर्धा होइन, संघर्षका हरेक मोडमा हार नमान्न सिकाउने आमाको शिक्षालाई व्यवहारमा उतार्ने अर्को प्रयास पनि हो।

२३ वर्षको उमेरमै पिता गुमाएका पोखरेलले आमालाई गुमाएको पनि २५३ दिन पुगेको छ। जीवनका दुई महत्वपूर्ण अभिभावक आज साथमा छैनन्, तर उनीहरूबाट पाएको संस्कार, संघर्ष गर्ने साहस र आशीर्वादलाई लिएर आफू पुनः व्यवसायीमाझ आएको पोखरेल बताउँछन्।कास्कीको तत्कालीन कृस्ती–८, मट्टीखानमा जन्मिएका पोखरेल आफ्नो जीवनयात्रालाई गाउँबाट पोखरासम्म आइपुगेको संघर्षसँग जोड्छन्।
समयसँगै कृस्ती–८ आज पोखरा महानगरपालिका–२१ बनेको छ। अनि त्यही गाउँबाट यात्रा सुरु गरेको एउटा ‘टुहुरो अर्जुन’ आज हजारौँ पोखरेली उद्योगी–व्यवसायीलाई आफ्नो अभिभावक ठान्दै संघको नेतृत्वका लागि उभिएको छ।

अघिल्लो चुनावमा चौतारीमा आमा, यसपटक सम्झनामा आमा पोखरेलका लागि अघिल्लो महाधिवेशनको एउटा दृश्य अहिले पनि उत्तिकै जीवन्त छ। उनी अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका थिए। उनकी आमा संघ परिसरको चौतारीमा बसेर छोराका लागि व्यवसायीसँग मत मागिरहेकी थिइन्। यसपटक त्यही चुनाव आएको छ। अर्जुन फेरि अध्यक्षको मैदानमा छन्। तर चौतारीमा बसेर मत मागिदिने आमा छैनन्।
आमा छैनन्, तर आमाले सिकाएको ‘हार नमान्ने’ पाठ बाँकी छ।त्यसैले पोखरेल आफ्नो तेस्रो प्रयासलाई पराजयपछि गरिएको पुनरावृत्ति होइन, लक्ष्यप्रतिको निरन्तरताका रूपमा प्रस्तुत गर्छन्।

“आज आमा हुनुहुन्न, तर पोखरेली उद्योगी–व्यवसायीको सेवक बन्ने मेरो हुटहुटी उस्तै छ, अझ बढेको छ,” उनको भनाइ छ।तेस्रो प्रयास : हारको होइन, निरन्तरताको कथानिर्वाचनमा जित र हार स्वाभाविक हुन्छ। तर पराजयपछि फेरि उभिने साहसले नेतृत्वको अर्को परीक्षा लिन्छ।
पोखरेलको अध्यक्ष पदका लागि यो तेस्रो प्रयास हो। दुईपटकको चुनावी अनुभवपछि पनि उनले संघप्रतिको सक्रियता र नेतृत्वको आकांक्षा छाडेका छैनन्। बरु विगतका अनुभवबाट सिकेर अझ परिपक्व भएर व्यवसायीमाझ आएको उनको भनाइ छ। उनका लागि यो चुनावी यात्राको मूल सन्देश पनि स्पष्ट छ—लड्नु असफलता होइन, हार मानेर रोकिनुचाहिँ वास्तविक हार हो।‘विरासत भत्काउने होइन, अर्को इँटा थप्ने चाहना’
पोखरेलले संघको नेतृत्वलाई नयाँ इतिहास आफूबाटै सुरु गर्ने विषयका रूपमा नभई अग्रजहरूले निर्माण गरेको संस्थागत विरासतलाई निरन्तरता दिने जिम्मेवारीका रूपमा प्रस्तुत गरेका छन्।

निर्वाचित अध्यक्ष गोकर्ण कार्कीसहित पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र संघ निर्माणमा योगदान पुर्‍याएका अग्रजहरूको मेहनतप्रति सम्मान व्यक्त गर्दै उनी भन्छन्—संघको गरिमाको ‘ग्रेट वाल’मा आफ्नो तर्फबाट पनि एउटा बलियो इँटा थप्ने जमर्को गरेको छु।यो अभिव्यक्तिले उनको उम्मेदवारीको एउटा फरक पक्ष देखाउँछ—नेतृत्व भनेको विगत मेटाएर नयाँ सुरुवात गर्नु होइन, अग्रजले बनाएको जगमा अर्को पुस्ताले जिम्मेवारीपूर्वक निर्माण थप्दै जानु हो।‘टुहुरो अर्जुन’बाट ‘तपाईंहरूको अर्जुन’सम्मपिता गुमाएको पीडा, आमाको संघर्ष, गाउँबाट सुरु भएको यात्रा, व्यवसायमा आफूलाई स्थापित गर्न गरेको मेहनत र पटक–पटकको चुनावी प्रतिस्पर्धा—यी सबै अनुभव बोकेर पोखरेल फेरि मतदातासामु पुगेका छन्।

यसपटक उनी क्रम संख्या १ मा अध्यक्ष पदका उम्मेदवार छन्।स्वर्गीय बुवा–आमाको आशीर्वाद र पोखरेली उद्योगी–व्यवसायीको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मानेका पोखरेलले आफ्नो तेस्रो प्रयासलाई सफल बनाउन मतको अपिल गरेका छन्।चुनावको अन्तिम निर्णय मतदाताले गर्नेछन्। तर अर्जुन पोखरेलको तेस्रो प्रयासले एउटा प्रेरणादायी सन्देश भने दिएको छ— जीवनले कहिलेकाहीँ अभिभावक खोस्छ, परिस्थितिले लडाउँछ र प्रतिस्पर्धाले पराजित पनि गर्छ। तर फेरि उठेर उभिने साहस बाँकी रहेसम्म यात्रा सकिँदैन। सायद उनकी आमाले भनेको “लडिन्छ, तर हार्नु हुँदैन” को अर्थ पनि यही थियो।

Leave A Reply

Your email address will not be published.