पोखरा :
पोखराको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै यहाँका उद्योगी–व्यवसायीको कारोबार वृद्धि गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि बुद्धाचार्यले आफ्ना योजना अघि सारेका छन्।
उनले पोखरामै उत्पादन हुने वस्तु तथा स्थानीय सेवाको प्रयोग र खरिदलाई प्रोत्साहन गर्न ‘बाइ पोखरा’ अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनको बजार विस्तारसँगै पोखराको पैसा पोखराकै अर्थतन्त्रमा परिचालन हुने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
व्यवसायीले लामो समयदेखि सामना गर्दै आएको मौज्दात तथा बिक्रीको समस्यालाई सम्बोधन गर्न ‘मिड इयर सेल’ जस्ता सामूहिक बजार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन्। यस्ता कार्यक्रममार्फत उपभोक्तालाई स्थानीय बजारतर्फ आकर्षित गर्दै व्यवसायीको बिक्री चक्रलाई गति दिने उनको लक्ष्य छ।
बुद्धाचार्यले संघलाई केवल व्यवसायीका समस्या उठाउने संस्थामा सीमित नराखी सीप तथा क्षमता विकास, पर्यटन र लगानी प्रवर्द्धन तथा नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। खेल गतिविधिलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने खेल पर्यटन तथा पोखरा आसपासका सम्भावनालाई एकीकृत विकाससँग जोड्ने ‘ग्रेटर पोखरा’ अवधारणा पनि उनका प्रमुख एजेन्डामा छन्।
*‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’*लाई मूल ध्येय बनाएका बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र नतिजामुखी बनाउने प्रतिबद्धता जनाएका छन्। भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूले आफ्ना एजेन्डा व्यवसायीमाझ लैजाने क्रम तीव्र बनाएका छन्। यसबीच बुद्धाचार्यले स्थानीय उत्पादन, बजार चलायमान बनाउने कार्यक्रम र पोखराको दीर्घकालीन आर्थिक विकासलाई केन्द्रमा राखेर आफ्नो चुनावी एजेन्डा अघि सारेका छन्।