सुचना, समाचार र मनोरन्जन

तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना

काठमाडौँ :

‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना देखाएको छ। शनिबार दिनभरको वर्षा र रसुवा भोटेकोसी बाढीको अवरोधका बाबजुद सिनेमा घरहरूमा दर्शकको उच्च चाप (फ्लो) देखिएको छ।

शनिबार काठमाडौँका अधिकांश शोमा उच्च अकुपेन्सी हुँदा एक दर्जनभन्दा धेरै शो हाउसफूल भएका थिए। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाउँदा शनिबार त्यसको सकारात्मक असर हलमा देखिएको हो।

चलचित्रका जानकार तथा मेकरहरूले सिनेमाको उच्च प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा त्यसको असर हलमा देखिन सुरु भएको छ। “वर्षा र बाढीको त्रास तथा प्रभावका बीच पनि शनिबार हलमा दर्शकको अकुपेन्सी धेरै देखियो। यो हाम्रा लागि सुखद पक्ष हो,” निर्देशक अविनाश विक्रम शाहले भने, “यो प्रतिकूल समयमा पनि दर्शकको साथले हामी उत्साहित छौँ।”

‘वर्ड अफ माउथ’ राम्रो पाउँदै जाँदा सिनेमा हलमा दर्शकको संख्या पनि थपिँदै जानेमा उनी ढुक्क छन्। “अधिकांश दर्शकले सिनेमालाई राम्रो भन्नुभएको छ,” उनले भने, “यसको प्रभाव आगामी दिनमा पक्कै पनि देखिनेछ भन्ने हाम्रो विश्वास छ।”

कान्सलगायत विश्वका ठूला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पुगेर अवार्डसमेत जितिसकेका अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्रमा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा छ।

चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ। निर्देशक शाहकै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ। चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो।

यस चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।

चार्लस अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एसोसिएट निर्माता अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट सह-निर्मातामा प्रवेश गुरुङ तथा एसोसिएट निर्मातामा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स रहेका छन्।

Leave A Reply

Your email address will not be published.