काठमाडौँ :
असोज १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’सँग ‘घाइते जेनजी नेपाल’ संस्थाले सहकार्य गर्ने भएको छ। चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस्ले चलचित्रको रिलिजपछि आएको मुनाफाको केही भाग घाइते जेनजीहरूलाई सहयोगार्थ दिने भन्दै केही दिनअघि प्रस्ताव पठाएको थियो। सोही प्रस्तावअनुसार घाइते जेनजी नेपालले उक्त सहकार्य स्वीकार गरेको संस्थाका अध्यक्ष बादल राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
जेनजी आन्दोलन किन भयो र त्यसअघि तथा पछिको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ। मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ। चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय रहेको छ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ। त्यस्तै, देव महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन बस्न्यातको छायांकन र सम्पादन रहेको छ।