अष्ट्रेलिया,
सहारा क्लब अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा खेलकुदप्रेमी स्व. राजमान थकालीको स्मृतिमा ‘तेस्रो राजमान थकाली मेमोरियल कप–२०२६’ आयोजना हुने भएको छ। स्व. थकालीले क्लब र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उनको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले आगामी सेप्टेम्बर १३, २०२६ मा स्मृति फुटबल खेल आयोजना गर्न लागिएको हो।
सहारा क्लब अष्ट्रेलियाका लागि थकाली पूर्वअध्यक्ष मात्र नभई संस्थालाई माया गर्ने, साथीभाइलाई जोडेर अघि बढ्ने र खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध बनाउन भूमिका खेल्ने प्रिय सहयात्रीका रूपमा स्मरणीय रहेको क्लबले जनाएको छ। फुटबलप्रतिको उनको लगाव र योगदानलाई सम्मान गर्दै क्लबले खेलकुदकै माध्यमबाट उनको स्मरण गर्ने परम्परालाई निरन्तरता दिएको हो।
मेमोरियल कपअन्तर्गत सहारा अष्ट्रेलिया र राजमान रकडेलबीच प्रदर्शनी खेल हुनेछ। खेल बिहान १० बजे सुरु हुनेछ। स्मृति खेलपछि १०औँ सहारा अष्ट्रेलिया कप–२०२६ को फाइनल खेल समेत आयोजना गरिनेछ।
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले स्व. थकालीको योगदानलाई कुनै एक दिन वा एउटा प्रतियोगितामा मात्र सीमित नराखी हरेक वर्ष मेमोरियल कप आयोजना गरेर उनको स्मृतिलाई जीवन्त राख्ने कार्यलाई निरन्तरता दिइने बताए।
उनले भने, “राजमानजीले सहारा क्लब अष्ट्रेलियालाई दिनुभएको नेतृत्व, माया र योगदान हामीले कहिल्यै बिर्सन सक्दैनौँ। उहाँलाई सम्झने र नयाँ पुस्तालाई उहाँको योगदानसँग परिचित गराउने माध्यमका रूपमा यो मेमोरियल कपलाई हरेक वर्ष निरन्तरता दिनेछौँ।”
क्लबले स्व। थकालीसँग जोडिएका साथीभाइ, शुभेच्छुक, खेलप्रेमी तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई उनको स्मृतिप्रति सम्मान प्रकट गर्न आग्रह गरेको छ।
मानिसको भौतिक उपस्थिति समाप्त हुन सक्छ, तर उसले छोडेको योगदान, सम्बन्ध र स्मृति जीवित रहिरहन्छ। खेलकुदप्रेमी राजमान थकालीको त्यही स्मृतिलाई फुटबलसँग जोडेर पुस्तान्तरण गर्ने अभियानका रूपमा ‘राजमान थकाली मेमोरियल कप’लाई अघि बढाइएको क्लबले जनाएको छ।