काठमाडौं,
नेपाल दाना उद्योग संघ (NFIA) ले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनादेखि स्वास्थ्य र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिसम्म आफ्नो सामाजिक उत्तरदायित्वलाई विस्तार गरेको छ।
रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि संघअन्तर्गतका सदस्य उद्योगहरूले हालसम्म ३ करोड १७ लाख ८४ हजार ७०१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

संघका अनुसार सहयोग रकम थपिने क्रम अझै जारी छ। सदस्य उद्योगहरूले आफ्नो क्षमता र सामाजिक उत्तरदायित्वअनुसार राहत कोषमा योगदान गरेका हुन्। केही उद्योगले ७५ लाख, ५० लाख र २५ लाख रुपैयाँसम्म सहयोग गरेका छन् भने अन्य सदस्य उद्योगले पनि विभिन्न परिमाणमा आर्थिक सहयोग उपलब्ध गराएका छन्।
संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले विपद्का बेला निजी क्षेत्रको भूमिका उद्योग-व्यवसाय सञ्चालनमा मात्र सीमित हुन नहुने बताएका छन्। प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु निजी क्षेत्रको सामाजिक दायित्वसमेत भएको उनको भनाइ छ।
विपदमा राहत, सामान्य अवस्थामा पोषण अभियान
नेपाल दाना उद्योग संघको सामाजिक सक्रियता विपद् राहतमा मात्र सीमित छैन। संघले पर्याप्त प्रोटिन सेवन, सन्तुलित पोषण, नियमित शारीरिक गतिविधि र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले देशव्यापी ‘Right to Protein’ अभियान सञ्चालन गर्दै आएको छ।
यसै अभियानअन्तर्गत संघले आयोजना गर्दै आएको ‘Right to Protein Run–2026’ को पाँचौँ संस्करण आगामी सेप्टेम्बर १९ अर्थात् असोज ३ गते पोखराको बसुन्धरा पार्कबाट आयोजना हुँदैछ।
दौडमार्फत प्रोटिनको महत्त्व, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीको सन्देश आमनागरिकसम्म पुर्याउने उद्देश्य राखिएको छ। यसपटकको दौडमा हजारौँ सहभागीलाई जोड्ने तयारी गरिएको छ।
एकातर्फ विपद्मा परेका नागरिकका लागि ३ करोड १७ लाख रुपैयाँभन्दा बढीको सामूहिक आर्थिक सहयोग र अर्कोतर्फ स्वास्थ्य तथा पोषणका लागि ठूलो संख्यामा नागरिकलाई जोड्ने अभियानले नेपाल दाना उद्योग संघको भूमिका व्यावसायिक हकहितको प्रतिनिधित्वमा मात्र सीमित नरहेको देखाएको छ।
संघले विपद्पछिको राहत तथा पुनःस्थापनामा निजी क्षेत्रको सामूहिक सहभागितालाई निरन्तरता दिने जनाएको छ। साथै, स्वास्थ्य र पोषणसम्बन्धी जनचेतनामूलक अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने बताएको छ।
स्वास्थ्यका लागि दौडदेखि विपद्मा राहतसम्म-नेपाल दाना उद्योग संघले व्यवसायसँगै पोषण, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो अभियानको हिस्सा बनाउँदै अघि बढाएको छ।