पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचन सम्पन्न भए लगत्तै एक सकारात्मक र उदाहरणीय कार्यको थालनी भएको छ। निर्वाचनमा खुला सदस्यतर्फ उम्मेदवारी दिएका युवा व्यवसायी राम प्रसाद कँडेलको नेतृत्वमा ८ सदस्यीय टोलीले निर्वाचन परिसरको सरसफाइ अभियान सञ्चालन गरेको हो।
निर्वाचनमा प्रयोग भएका प्रचार–प्रसार सामग्रीहरू, जस्तै ब्यानर, फ्लायर, पोस्टर र अन्य फोहोरहरू हटाएर परिसरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ।

“चुनावी प्रतिस्पर्धा चुनावसम्म मात्र हो, त्यसपछि हामी सबै व्यवसायी एउटै समुदायको हिस्सा हौं र हाम्रो एकता नै सर्वोपरि हो,” सरसफाइ अभियानको नेतृत्व गरिरहेका राम प्रसाद कँडेलले भने। “चुनाव सकिएपछि पनि हामीबीचको सहकार्य, सद्भाव र व्यावसायिक एकता कायम राख्नुपर्छ। फोहोरले वातावरणमा नराम्रो असर पुर्याउँछ, त्यसैले हामीले आफ्नै पहलमा यो जिम्मेवारी लिएका हौं।”
बिहानैदेखि सुरु गरिएको यस सरसफाइ अभियानमा ‘Easy Groups’ तथा ‘Easy Facilities’ का कर्मचारीहरूले पनि सक्रिय रूपमा सहभागी भई टोलीलाई साथ दिएका थिए। टोलीका अन्य सदस्यहरूले पनि चुनावी परिणाम जे भए पनि सबै पक्ष मिलेर संस्थाको हित र पोखराको आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए।
निर्वाचनपछि देखिएको यो सकारात्मक गतिविधिले प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्धभन्दा माथि राख्दै हार–जितलाई स्वाभाविक रूपमा स्वीकार गर्ने स्वस्थ राजनीतिक र व्यावसायिक संस्कारको विकास गर्ने विश्वास गरिएको छ।
“प्रतिस्पर्धा चुनावसम्म, सहकार्य सधैँभरि” भन्ने मुख्य नाराका साथ गरिएको यो सरसफाइ अभियानले आम व्यवसायी र पोखराबासीलाई जिम्मेवार बन्न प्रेरित गरेको छ। पोखरा उद्योग वाणिज्य संघको इतिहासमा यो पहिलो पटक यस्तो किसिमको पहलकदमी लिइएको हो, जसको प्रशंसा गरिएको छ।
सरसफाइमा सहभागी टोलीका अन्य सदस्यहरूले आगामी दिनमा पनि यस किसिमका रचनात्मक कार्यहरूलाई निरन्तरता दिने र संघका हरेक गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
