काठमाडौं :
नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ दक्षिण कोरियामा आयोजना हुने ३१औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ। चलचित्र बुसानको ‘एसियन सर्ट कम्पिटिसन’ अन्तर्गत ‘वाइड एङ्गल सेक्सन’मा आधिकारिक रूपमा छनोट भएको हो।
राजेश प्रसाद खत्रीको लेखन तथा निर्देशन रहेको चलचित्रले नेपालको दुर्गम ग्रामीण क्षेत्रमा अझै कायम रहेको बालविवाह र त्यसले किशोरीको शिक्षा तथा स्वतन्त्रतामाथि पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रकी १४ वर्षीया मुख्य पात्र मुना कक्षा ८ मा अध्ययनरत एक प्रतिभाशाली किशोरी हुन्। उनी आफ्नो पढाइ पूरा गरेर स्वतन्त्र जीवन जिउने सपना देख्छिन्।
तर परिवार र समुदायको परम्परागत सोचका कारण उनलाई जबर्जस्ती विवाहका लागि तयार पारिन्छ। विवाहकै दिन उनी आफ्नो शिक्षा जोगाउन शिक्षिकाको घरमा पुगेर सहयोग माग्छिन्। तर गाउँलेहरूले उनलाई त्यहाँबाट निकालेर पुनः विवाहको प्रक्रियामा फर्काउँछन्। चलचित्रले बालविवाहसँगै ग्रामीण नेपाली समाजमा महिलामाथि हुने सामाजिक दबाब, शिक्षाको पहुँच र परम्पराका नाममा हुने लैङ्गिक विभेदलाई संवेदनशील तथा प्रतीकात्मक शैलीमा प्रस्तुत गरेको छ।

प्राकृतिक प्रकाश, वास्तविक लोकेसन र न्यून उपकरणको प्रयोगमार्फत चलचित्रलाई कच्चा तथा यथार्थपरक बनाइएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा ‘चुम्पा’ नामको परम्परागत पुतलीलाई हराएका आवाज र महिला प्रतिरोधको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा कबिता बुढाले मुनाको भूमिका निर्वाह गरेकी छन् भने बिनिता थापा मगर र मीरा खड्का शिक्षिकाको भूमिकामा छन्। दिपेश मल्लले बेहुलाको भूमिका निभाएका छन्। नेपालमा निर्माण भएको २० मिनेट लामो यो चलचित्र खस भाषामा छायांकन गरिएको हो।
चलचित्रको छायांकन पश्चिम-उत्तर नेपालको ग्रामीण क्षेत्रमा गरिएको हो। चलचित्रका लेखक तथा निर्देशक राजेश प्रसाद खत्री स्वअध्ययनबाट फिल्म निर्माणमा आएका प्राथमिक विद्यालयका शिक्षक हुन्। उनको पहिलो लघु चलचित्र ‘अ क्युरियस गर्ल ‘ले २०१८ मा ‘बर्लिनाले इन्टरनेसनल फिल्म फेस्टिभल’ को ‘जेनेरेसन केप्लस’ विधामा ‘बेस्ट फिल्म’अवार्ड जितेको थियो। उनको दोस्रो चलचित्र ‘अ स्केरक्रो’ले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रिमियर गरेको थियो।
‘चुम्पा : अ डल अन्डर द बास्केट’ को निर्माण पिक्चर फ्रेम र फ्लिकर आर्ट्स इन्टरटेनमेन्टको सहकार्यमा भएको हो। चलचित्रका निर्माता केदार भुसाल, क्रिएटिभ प्रोड्युसर दिनेश राउत तथा कार्यकारी निर्माता एवं प्रोडक्सन डिजाइनर रामलाल खड्का रहेका छन्। छायांकन शरद महतो, सम्पादन पासाङ दावा शेर्पा तथा किरण श्रेष्ठ, लोकेसन साउन्ड तथा साउन्ड डिजाइन विपिन स्थापित, कलर ग्रेडिङ दिपेश चौधरी र संगीत सरुन मनन्धर तथा सबिन महर्जनको रहेको छ।
पिक्चर फ्रेम र फ्लिकर आर्ट्स इन्टरटेनमेन्ट नेपालका स्वतन्त्र चलचित्र निर्माण कम्पनी हुन्, जसले लघु चलचित्र, कथानक तथा वृत्तचित्रमा केन्द्रित भएर विशिष्ट नेपाली कथाहरू भन्दै आएका छन्। यसअघि यि दुई कम्पनीले निर्माण गरेको चलचित्र ‘रिहाना’ले २०२५ को बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरेको थियो। बालविवाह, महिला अधिकार, ग्रामीण यथार्थ र शिक्षाको महत्वलाई केन्द्रमा राखेको ‘चुम्पा : अ डल अन्डर द बास्केट’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवको मञ्चबाट नेपाली ग्रामीण समाजका दबिएका आवाजलाई विश्व दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।