सुचना, समाचार र मनोरन्जन

मनोरञ्जनबाट उद्यमशीलतातिर वर्षा : मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धन र मार्केटिङ सम्हाल्ने

काठमाडौँ :
अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रको व्यावसायिक यात्रामा प्रवेश गरेकी छन्। नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाप्रदायक संस्था ‘मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेड’ले उनलाई मंगलबार आफ्नो ‘ब्रान्ड फेस’का रूपमा नियुक्त गरेको हो।

यस सहकार्यअन्तर्गत अभिनेत्री शिवाकोटीले मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्। सामान्य विज्ञापन (एन्डोर्समेन्ट)मा मात्र सीमित नभई संस्थाको दीर्घकालीन व्यावसायिक यात्रा र विकासमा प्रत्यक्ष जोडिने गरी यो सम्झौता भएको कम्पनीले जनाएको छ।

आफ्नो दायरा विस्तार गर्ने क्रममा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र रोजेको बताउँदै अभिनेत्री शिवाकोटीले भनिन्,‘अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्डसँग काम गरेकी छु, तर यसपटक केवल ब्रान्डको अनुहार मात्र नभई संस्थाको विकाससँग अझ नजिकबाट जोडिन चाहन्थेँ। यो मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर हो।’

आफ्नो करियरलाई अभिनयमा मात्र सीमित नराखी नयाँ क्षेत्रहरू सिक्ने प्रयासमा रहेको उल्लेख गर्दै उनले हेल्थकेयर सेक्टरलाई नजिकबाट बुझ्न र आफ्नो अनुभव तथा सिर्जनशीलता प्रयोग गर्न यो सहकार्य फलदायी हुने बताइन्।

भविष्यमा मनोरञ्जन क्षेत्रका साथसाथै व्यवसाय, ब्रान्ड निर्माण र उद्यमशीलताका क्षेत्रमा पनि आफ्नो भूमिका विस्तार गर्दै लैजाने उनको योजना छ। यस सहकार्यले शिवाकोटीको स्थापित अभिनय करियरसँगै नयाँ व्यावसायिक र उद्यमशील पहिचानलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.