काठमाडौँ :
प्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ को आधिकारिक ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद, असमानता र उल्झनको विषय प्रस्तुत गरिएको छ।
मुख्य कथालाई सस्पेन्स नै राखिएको ट्रेलरमा हाँसो, रोमान्स र रोदनको सन्तुलित मिश्रण देख्न सकिन्छ। काजी लिम्बूको लेखन रहेको यस चलचित्रलाई निर्माण पक्षले सामाजिक सन्देशयुक्त मनोरञ्जनात्मक कथानकका रूपमा चिनाएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै व्याप्त जातीय विभेद र धनी वर्गले गरिब-निमुखामाथि गर्ने थिचोमिचोजस्ता गैरमानवीय कार्यविरुद्ध चलचित्रमार्फत सशक्त आवाज उठाउने प्रयास गरिएको बताए। उनले फिल्मले मौलिक नेपाली जनजीवनको कथा बोकेकाले दर्शकलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। अर्का निर्देशक काजी लिम्बूले आफूहरूले वर्षौँदेखि भन्न चाहेको कथा ‘जदौ’ मार्फत ल्याएको भन्दै यो हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने चलचित्र भएको दाबी गरे।

कार्यक्रममा अभिनेता मुकुन भुसालले फिल्ममा आफूले विगतभन्दा भिन्न भूमिका निर्वाह गरेको बताए। अभिनेत्री नीति शाहले ‘जदौ’ मा निकै मिहिनेत गरेकाले सुखद परिणाम आउनेमा आशावादी रहेको धारणा राखिन्। अभिनेता प्रभात पाल ठकुरीले यो चलचित्र आफ्नो करिअरकै लागि महत्त्वपूर्ण रहेको बताउँदै दर्शकलाई हलसम्म पुगेर हेरिदिन आग्रह गरे। त्यसैगरी अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौडेलले पनि आ-आफ्नो भूमिकाबारे स्पष्ट पार्दै फिल्म राम्रो बनेकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए।
कार्यकारी निर्मात्री शान्ति पुडासैनीले धेरै दुःख र मिहिनेतका साथ चलचित्र निर्माण गरिएको स्मरण गर्दै सम्पूर्ण दर्शकलाई हेरिदिन आग्रह गरिन्। निर्माता डिल्लीराज पोखरेलले चलचित्रले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाज पनि बुलन्द गरेकाले यस प्रकारका फिल्मलाई सबैले साथ दिनुपर्ने बताए। कन्सेप्ट डिजाइनर विमला भण्डारीले पनि आम नेपालीलाई ‘जदौ’ हेर्न आह्वान गरिन्।
असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्यालका साथै राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ। श्याम तामाङ र नवराज उप्रेती (गीत) को छायाङ्कन रहेको ‘जदौ’ का सह-निर्माता राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री हुन्।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्मात्री रहेको यस चलचित्रलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ। सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रका शीर्ष गीत ‘जदौ हजुर…’ र प्रेमिल गीत ‘तिमीसँग नबोली…’ हाल दर्शकस्रोताको रोजाइमा परेका छन्। यसअघि सार्वजनिक टिजरले पनि दर्शकको राम्रो ध्यान तानेको थियो। कार्यक्रममा ‘जदौ’ टिमको तर्फबाट गोलाप्रथामार्फत सात जना भाग्यशाली सञ्चारकर्मीलाई विभिन्न उपहार समेत प्रदान गरिएको थियो।