काठमाडौँ :
सफल सिरिज ‘कबड्डी’को पाँचौँ भाग ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ आगामी दशैँको टीकाको पर्सिपल्ट (कार्तिक ६ गते) देखि देशभर प्रदर्शन हुने भएको छ। शुक्रबार निर्माण पक्षले सिनेमाको पहिलो आधिकारिक पोस्टर (फर्स्टलुक) सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

सार्वजनिक पोस्टरमा मुख्य पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) लाई उनीहरूकै चर्चित चरित्रमा देखाइएको छ। पार्कको कुर्सीमा क्रिकेट ब्याट समातेर सोचमग्न बसेका काजी र उनलाई गम्भीरतापूर्वक हेरिरहेका बीके तथा छन्त्यालको दृश्यले दर्शकमा थप उत्सुकता जगाएको छ।
यसअघिका चारै भाग बक्स अफिसमा ब्लकबस्टर भइसकेका छन्। विशेष गरी चौथो शृङ्खलाले करिब २२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको थियो। चौथो भागलाई ‘फाइनल म्याच’ भनिए तापनि दर्शकको माग र पात्रहरूको अधुरो कथा पूरा गर्न पाँचौँ भाग निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा दयाहाङ, विजय र बुद्धिका साथै विपिन कार्की, रिश्मा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ। सिनेमाको लेखन तथा निर्देशन रामबाबु गुरुङको रहेको छ भने निर्माणमा मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले सहकार्य गरेका छन्। चलचित्रलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन्।