काठमाडौँ :
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को सार्वजनिक चार मिनेट लामो ट्रेलरमा कलाकारहरूको अभिनय र भूमिकालाई मुख्य आकर्षणका रूपमा देखाइएको छ। मुस्ताङको रमणीय पृष्ठभूमिमा छायाङ्कन गरिएको यस फिल्मको कथा मुख्य रूपमा चार पात्रहरूको सम्बन्ध, प्रेम, वियोग र हास्यरसयुक्त झगडामा केन्द्रित छ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्त कडा स्वभावकी युवतीको भूमिकामा छिन्। ट्रेलरमा उनले पुरुष पात्रहरूसँग गर्ने कुटपिट र नोकझोकका दृश्यहरूलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। ट्रेलरले सुरक्षा पन्त र अभिनेता मुकुन भुसाल फिल्ममा श्रीमान्–श्रीमतीको भूमिकामा रहेको खुलासा गरेको छ। सुरक्षालाई मन पराउने तीन युवा र त्यसपछि उत्पन्न हुने हास्यास्पद घटनाक्रमले फिल्मको कमेडीलाई गति दिएको छ।
यस फिल्मको अर्को ठूलो आकर्षण भनेको हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमन हो। ‘प्रेम चरो’का रूपमा दर्शकमाझ लोकप्रिय त्रिपाठीले दुई दशक (२० वर्ष) पछि यही फिल्ममार्फत अभिनय यात्रामा पुनरागमन गरेका हुन्।
फिल्ममा मुकुन र सुरक्षाका साथै विल्सन विक्रम राई, उमेश राई (‘फुलन्देकी आमा’), रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, प्रेम देव गिरी र खड्गबहादुर पुनजस्ता अनुभवी तथा लोकप्रिय कलाकारहरूको टोली रहेको छ। धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म असोज १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।
