पोखरा,
सौन्दर्य व्यवसायमा आबद्ध महिलाको सीप विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई केन्द्रमा राखेर पोखरामा आयोजित हेयर तथा स्किनसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पोखरास्थित होटल पौवामा मंगलबार सम्पन्न कार्यक्रममा पोखरासहित लमजुङ, स्याङ्जा, बागलुङ, दमौलीलगायत विभिन्न जिल्लाबाट आएका करिब ३५० जना ब्युटिसियन तथा सौन्दर्य व्यवसायी सहभागी भएका थिए।

रुपन्देहीमा विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली उद्योग वेलटेन कस्मेटिक इन्डस्ट्रिज प्रालिले आयोजना गरेको कार्यक्रममा ‘वेलटेन प्रोफेसनल’का उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे जानकारीसँगै व्यावहारिक प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाईंले सौन्दर्य क्षेत्र महिलाका लागि स्वरोजगार, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको महत्वपूर्ण माध्यम बन्दै गएको बताए।
उनले महिलालाई सीपसँगै अवसर, आत्मविश्वास र व्यावसायिक ज्ञान प्रदान गर्न सके महिला सशक्तीकरणमा योगदान पुग्ने बताए।
“महिला सशक्तीकरण भनेको अवसर दिनु मात्र होइन, महिलालाई आफ्नो सीपमार्फत आत्मनिर्भर र सफल उद्यमी बन्न सक्षम बनाउनु पनि हो,” प्रसाईंले भने।

नेपाली उत्पादनको प्रवर्द्धनसँगै सौन्दर्यकर्मीको सीप र व्यवसायलाई थप व्यावसायिक बनाउन कम्पनीले यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।
कार्यक्रमका मुख्य प्रशिक्षक गगनदीपले सहभागीलाई हेयर तथा स्किन केयरका आधुनिक प्रविधि, व्यावसायिक प्रयोग, नयाँ प्रवृत्ति तथा वेलटेन प्रोफेसनलका विभिन्न उत्पादनको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिएका थिए।
व्यावहारिक प्रदर्शनसहित सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीले नयाँ प्रविधि र प्रयोग विधिबारे प्रत्यक्ष जानकारी लिएका थिए।
कार्यक्रमको सञ्चालन सीलु अधिकारीले गरेकी थिइन्। विभिन्न जिल्लाबाट ठूलो संख्यामा सौन्दर्यकर्मीको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सौन्दर्य व्यवसायलाई केवल सौन्दर्य सेवामा सीमित नराखी सीप, स्वरोजगार, उद्यमशीलता र महिला आर्थिक सशक्तीकरणसँग जोड्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।
स्वदेशमै उत्पादन हुँदै आएका कस्मेटिक सामग्रीको प्रवर्द्धनसँगै नेपाली सौन्दर्यकर्मीलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय प्रवृत्तिसँग परिचित गराउँदै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु कम्पनीको उद्देश्य रहेको जनाइएको छ।
पोखरामा सम्पन्न प्रशिक्षणले विभिन्न जिल्लाका सौन्दर्यकर्मीबीच सीप तथा अनुभव आदानप्रदान, नेटवर्किङ र नयाँ प्रविधि सिक्ने अवसर समेत प्रदान गरेको आयोजकले जनाएको छ।
